२३ वर्षे युवाले दिलाए कतारलाई ओलम्पिकमा कीर्तिमानसहित ऐतिहासिक स्वर्ण

जापानको टोक्योमा जारी ओलम्पिकमा कतारले ओलम्पिक इतिहासमै पहिलो पटक स्वर्ण पदक जितेको छ। उसका भारोत्तोलन खेलाडी फारेज अल बाखले दुई कीर्तिमान राख्दै कतारलाई ऐतिहासक स्वर्ण पदक दिलाएका हुन्।

२०१९ को विश्व च्याम्पियनसिपमा रजत पदक जितेका बाखले ९६ केजी तौल समूहमा प्रभावशाली प्रदर्शन गर्दै स्वर्ण जितेका हुन् । क्लिन एन्ड जर्कमा उनले २ सय २५ केजी उचाल्दै नयाँ आयाम दिएका थिए । उनले कुल ४ सय २ केजी उचाले ।

‘यो ओलम्पिकमा स्वर्ण जित्न पाएकामा मैले आफूलाई निकै सम्मानित भएको महसुस गरेको छु,’ २३ वर्षे अल बाखले भने, ‘मेरो प्रदर्शन राम्रो रहेको आशा मैले गरेको छु ।’

उनले जितेको यो पदक कतारको ओलम्पिकमा केवल छैटौं र भारोत्तोलनमा दोस्रो हो । सिड्नी ओलम्पिकमा सैफ असादले १ सय ५ केजीमा कतारलाई कांस्य पदक दिलाएका थिए । बाखलाई चुनौती तेर्स्याउनेक्रममा भेनेजुएलाका केयडोमार सान्चेजले रजत र एन्टोन प्लिइसनोइले कांस्य पदक जिते ।

बाखले अन्तिम लिफ्टमा विश्व कीर्तिमानका लागि २ सय ३२ केजी उचाल्ने प्रयास गरेका थिए, त्यसमा उनी असफल रहे ।

Facebook Comments Box