मोरेसको दुःख

जब बुबा–आमाको औँला समातेर स्कुलको गेटभित्र छिर्ने उमेरमा बा बित्छन्, गरिबीका कारण प्रताडित हुनुपर्छ, बालापनको त्यो स्मृति कस्तो होला ? ती स्मृति निकै धमिलो र तीता होलान् । ती दिन सम्झँदा शब्दहरू घाँटीमै अड्केलान् ।

यस्तै कथा छ, वेस्ली मोरेसको । उनको बाल्यकाल यस्तै पीडादायी स्थितिमा बित्यो । ब्राजिलको रियो डी जेनेरियोनजिकैको सानो गाउँ जुइज डे फेरामा जन्मिएका उनले नौ वर्षमा पिता गुमाए ।
बुबाको काखमा लुटपुटिने उमेरमा ब्रेन ट्युमरले मोरेसबाट पितालाई चुँडाएर लग्यो । त्यसपछि नै त हो, मोरेसको जीवनलाई नियतिले अँध्यारो बनाइदिएको ।

मोरेसका पिता एक फुटबलर थिए, मिडफिल्ड पोजिसनबाट खेल्थे । तर, खेलेर उल्लेख्य आयआर्जन गर्न सकेका थिएनन् । तर, पनि उनको इच्छा थियो, छोरो स्टार फुटबलर बनोस् । उनले मोरेसलाई फुटबल नसिकाएका पनि होइनन्, तर उनीसँग पर्याप्त समय भएन जसले मोरेसलाई स्टार फुटबलर बनाओस् । समयले उनलाई त्यो छुट दिएन, जसले छोरो स्टार फुटबलर बनेको देखोस् ।

कलिलै उमेरमा ब्रेन ट्युमर मोरेस र उनका पिताबीचको बाधक नबनेको भए उनको करिअर सहजै अघि बढ्ने थियो । तर, एकेडेमी भर्ना हुने वेला नियतिले उनलाई मजदुरका रूपमा कारखानामा भर्ना गरिदियो । संस्कारै फुटबल भएको देशमा सिक्ने र खेल्ने चाहना हुँदाहुँदै पनि मजदुरी उनको बाध्यता बनिदियो ।

०००

जब उनी १५ वर्ष पुगे तब जीवनले अर्कै मोड लिइदियो । नौ वर्षमा पिता गुमाएका उनी १५ वर्षमा आफैँ छोराको बुबा बने । १६ वर्षमा उनकी छोरी जन्मिइन् । त्यो पनि फरक–फरक श्रीमतीबाट । सानैमा पिता गुमाएका उनी आफैँ पनि सानै उमेरमा बुबा बने । यसले उनको जीवनमा ठूलो प्रभाव पा¥यो ।

छोरी जन्मनेबित्तिकै उनी एक सामान्य कारखानामा मजदुरी गर्न थाले । उनले महिनाको केवल १५० पाउन्ड पाउँथे । त्यो पैसाबाट उनको जीविका मुस्किलले चल्थ्यो । तर, उनले कहिल्यै हिम्मत हारेनन् । वास्तवमै उनको जीवन निकै उतारचढावले भरिएको छ ।

गरिबीमा हुर्किएका मोरेसलाई छोराछोरीका लागि राम्रो गर्नु छ । राम्रो पिता बन्ने उनको इच्छा छ । किनकि, गरिबीमा बाँच्नुपर्दाको पीडाबारे उनी जानकार छन् । छोरा यान र छोरी मोरेसका दुई आमासँग अहिले मोरेसको सम्बन्ध छैन । तर, पनि उनी आफ्ना सन्तानसँग सम्पर्कमै छन् । उनका छोरा र छोरी आ–आफ्नै आमासँग बस्छन् । ‘एक राम्रो पिता बन्ने कोसिस गर्छु, सन्तानका लागि जेसुकै गर्न तयार छु, मेरो जस्तो संघर्ष मेरा सन्तानले गर्न नपरोस्,’ उनी भन्छन्, ‘दुःख गरेर मलाई हुर्काएका मेरा मातापिताका लागि पनि मैले खेल्नु छ ।’

०००

उनलाई चालू सिजनको सुरुवातमा इंग्लिस क्लब एस्टन भिल्लाले अनुबन्ध ग¥यो । भिल्लाबाट उनले तीन खेलमा एक गोल गरेका छन् । मोरेसको बाल्यकाल जति उतारचढावमा बित्यो, फुटबल करियरका आरोह–अवरोह पनि त्यति नै उतारचढावपूर्ण रहे ।

एस्टन भिल्लाले अनुबन्ध गरेपछि ‘द गार्डियन’ मा स्टुवार्ट जेम्सले उनको मर्मस्पर्शी कथा लेखे । त्यही कथाबाट मोरेसका वास्तविक कहानी धेरैले थाहा पाए । सानो उमेरमा फुटसल खेलेका उनले गरिबीका कारण पर्याप्त सिक्ने मौका त पाएनन् नै । तर, हिम्मत पनि हारेनन् । त्यही बलियो आत्मविश्वासको परिणाम हो, भिल्लामार्फत उनको प्रिमियर लिग यात्रा ।

कठिन जीवनको बारेमा मात्रै चर्चा गर्ने हो भने मोरेसको कथा पूर्ण हुन सक्दैन । गरिबी उनको जीवनको एउटा पाटो हो, तर शारीरिक बनोट उनको कथाको अर्को पाटो हो । गरिबीको कथा मर्मस्पर्शी छ भने शारीरिक बनावटको कथा रोचक । उनको एउटा खुट्टा तीन सेन्टिमिटर छोटो छ । त्यही विशेषता नै मोरेसको पहिचान बन्न पुगेको छ ।

वर्तमान फुटबलरमाझ उनी यही विशेषताका कारण पृथक् छन् । मोरेसको शारीरिक बनावट जन्मजात नै यस्तै हो । उनका ब्राजिली एजेन्ट पाउलो नेमीले जब पहिलोपटक मोरेसलाई भेटे, तब उनी अचम्ममा परे । त्यसैले उनले मोरेसलाई तुरुन्तै ब्राजिली टिमका चिकित्सककहाँ लगिहाले । तर, चिकित्सकले एउटा खुट्टा छोटो भए पनि खेल्न कुनै समस्या नहुने बताइदिए । चिकित्सकको सोही घोषणा नै मोरेसको करिअरको ‘टर्निङ प्वाइन्ट’ साबित बनिदियो ।

एउटा खुट्टा केही छोटो भएकै कारण खेल्न समस्या नहुने बताउनका लागि चिकित्सकले गारिन्चालाई आधार माने । ब्राजिलका यी महान् खेलाडीको एउटा खुट्टा ६ सेन्टिमिटर छोटो थियो । तर, उनी ब्राजिलका महान् खेलाडी बने । उनको खेल नै विशेष र उत्कृष्ट थियो । उनले सन् १९५८ र १९६२ मा विश्वकपसमेत जिते । मोरेसको हकमा पनि गारिन्चा नै उदाहरण बने ।

चिकित्सकको उक्त सुझाबपछि ठूलो सपना बोकेर उनी युरोप हानिए । एट्लेटिको म्याड्रिडको यू–१७ टिमसँग उनी तीन महिनाका लागि अनुबन्धित भएका थिए ।

त्यसपछि उनले स्लोभानियोको क्लबबाट खेले । सन् २०१६ मा उनी ब्रागसँग अनुबन्धित भए । त्यो वेला उनको उमेर १९ वर्ष थियो । ब्राग उनको शारीरिक अवस्थाबारे चिन्तित थियो । केही परीक्षणसमेत भए । तर, उनले क्लब र समर्थकलाई निराश बनाएनन् । ब्रागमा उनले आफूलाई प्रमाणित गरिसकेका थिए । उनले फुटबलबारे धेरै कुरा सिकेको पनि ब्रागमै हो । त्यो वेला उनकी आमाले निकै सहयोग गरिन् । मोरेस ब्रागबाट खेल्दा आमा वेला–वेला बेल्जियम पुग्ने गर्थिन् ।

मोरेसलाई बेल्जियम तथा इन्टरमिलानका रोमेलु लुकाकुसँग तुलना गर्नेहरू पनि छन् । त्यसैले त धेरैले उनलाई ‘दोस्रो लुकाकु’ भन्छन् । त्यसो भन्नुको पछाडिको कारण पनि उनको शरीर नै हो । ६ फिट ३ इन्च अग्ला २२ वर्षीय मोरेसको तौल ९३ किलो छ । मैदानमा मोरेस उत्रँदा उनको शरीरले विपक्षी खेलाडीमा डर उत्पन्न गराइदिन्छ । उनको खेल्ने शैली पनि आफ्नै छ । विपक्षीविरुद्ध हाबी भएर खेल्नु उनको प्रमुख विशेषता हो ।

भिल्लाका प्रशिक्षक डेन स्मिथलाई मोरेसमाथि निकै भरोसा छ । र त, मोरेसका बारेमा रमाइलो टिप्पणी गरिदिन्छन् । ‘तपाइंलाई केवल उसको खुट्टा हेर्न मन लाग्ला, तर मलाई थाहा छ, धेरै केटीहरू उनलाई हेरिरहेका होलान् । उनी जति शक्तिशाली छन्, त्यति नै व्यावसायिक र उत्कृष्ट छन्,’ मोरेसको शरीरका बारेमा प्रश्न सुन्नासाथ स्मिथले यस्तै जवाफ दिइहाल्छन् ।

मोरेस सेन्टर फवार्ड पोजिसनमा जम्ने खेलाडी हुन् । उनको अर्को विशेषता ठूलो ज्यान, तीव्र गति र उत्कृष्ट फिनिसिङ हो । यही विशेषताका कारण उनले मैदानमा ९० मिनेट विपक्षी डिफेन्डरलाई समस्यामा पारिदिन्छन् । ब्रागमा गत सिजन उनले १७ गोल गर्दै १० असिस्ट गरेका थिए । उनी विपक्षीका लागि डिबक्सभित्र जति घातक मानिन्छन्, त्यति नै बाहिर पनि । उनको यस्तै विशेषता र कथा सुनेर त हो, भिल्लाले दुई करोड २० लाख पाउन्ड तिरेर भिœयाएको !

अब प्रिमियर लिगमा आफूलाई प्रमाणित गर्दै भिल्लालाई अघि बढाउनु र राष्ट्रिय टोलीबाट खेल्नु उनको लक्ष्य हुनेछ । बाल्यकालमा भाग्यले ठगेका मोरेस सफल बने उनको पहिचान नै फेरिनेछ र उनलाई ‘लुकाकु’ होइन, विश्वले भन्नेछ, ‘दोस्रो गारिन्चा !’