यो सिजन खेलाडी भित्र्याउन २ सय मिलियनभन्दा बढी खर्चिएको चेल्सीले नवप्रवेशी क्लब बेस्टब्रुमसँग अप्रत्याशित हारबाट जोगिएको छ । शनिबार राति भएको खेलमा ३–०ले पछि परेको अवस्था उल्टाउँदै चेल्सीले ३–३ गोलको बराबरी खेल्यो ।
बेस्टब्रुमले पहिलो हाफको सुरुवातमै ३ गोल गर्दै चेल्सीलाई दबाब दिएको थियो । तर, दोस्रो हाफमा ३ गोल गर्दै चेल्सी अप्रत्याशित हारबाट जोगियो । चेल्सीका लागि मेसन माउन्ट, हड्सन ओडोइ र टमी अब्राहमले गोल गरे भने बेस्टब्रुमका कलुम रोविन्सनले २ र केली बार्टलीले एक गोल गरे ।
खेल चौंथो मिनेटमा रोविन्सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । चेल्सीका कप्तान थियागो सिल्भाको गल्तीको फाइदा उठाउँदै २५औं मिनेटमा रोविन्सनले नै गोल गर्दै टोलीको अग्रता २–० को बनाए । २७औं मिनेटमा बार्टलीले गोल गरेपछि पहिलो हाफमै चेल्सी ३–०ले पछि पगरेको थियो ।
हाफ टाइममै फ्यांक लाम्पार्टले २ खेलाडी परिवर्तन गरे । उनले मार्को ओलन्सोको स्थानमा सेसर एप्लिजिक्वेटा र मेटो कोभासिचको स्थानमा ओडोईलाई मैदान छिराएका थिए ।
दोस्रो हाफको सुरुवातदेखि नै बेस्टब्रुमलाई दबाबमा राखेको चेल्सीका ५५औं मिनेटमा माउन्टले उत्कृष्ट गोल गर्दै टिमलाई खेलमा फर्काए । ७०औं मिनेटमा ओडोइले गोल गर्दै चेल्सीलाई ३–२ को अवस्थामा ल्याए । त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई हारबाट जोगाए ।