कोस्टारिकाविरुद्ध इन्ज्युरी टाइममा दुई गोल गर्दै ब्राजिलले विश्वकप २०१८ को पहिलो जित हात पारेको छ । काउटिन्होले ९०औं मिनेटमा र नेमारले ९७औं मिनेटमा गोल गरेपछि ब्राजिल २–० ले विजयी भएको थियो ।
जब रेफ्रिले खेल सकिएको जनाउ दिँदै सिट्ठी बजाए ब्राजिलका सबै खेलाडि खुशी मनाउन तिर लागे तर, नेमार भने हत्केलाले अनुहार छोपेर भक्कानिँदै रुन थाले । नेमार रोएको दृष्य थुप्रै बेरसम्म टिभिमा तथा मैदानमा भएको डिस्प्लेमा देखाउँदा मैदानमा उपस्थित अधिकांश ब्राजिलियन समर्थकहरुका आँखा पनि रसाएका थिए ।
खेलपछि इन्स्टाग्राममा पोष्ट गर्दै नेमारले आफु त्यसरी रुनुको कारण खुलाएका थिए । उनले चोटका कारण विश्वकप गुमाउन सक्ने खतरा थियो, विश्वकप अगावै फिट हुन आफुले गरेको संघर्ष सम्झेर आँसु रोक्न नसकेको बताए । चोटका बावजुद विश्वकपमा गोल गरेर ब्राजिललाई जिताउन सक्दा आफुले खुशीका आँसु रोक्न नसकेको पनि उनले बताए ।
पेरिस सेन्ट जर्मनका स्टार स्ट्राइकर नेमार ‘मेटाटार्सल इन्जुरी’का कारण विगत ५ महिनादेखि मैदान बाहिर थिए । स्विजरल्यान्डविरुद्धको समूहचरणको पहिलो खेल नेमारको गत फेब्रुअरीमा चोटग्रस्त भएपछिको पहिलो खेल थियो ।