नामिबिया पहिलो पटक टि–२० विश्वकपको सुपर १२मा

एसोसिएट राष्ट्र नामिबिया युएई र ओमानमा जारी टि–२० विश्वकपको सुपर १२मा प्रवेश गरेको छ। शुक्रबार राति भएको समूह चरणको अन्तिम खेलमा आयरल्यान्डलाई ८ विकेटले हराउँदै नामिबिया पहिलो पटक टि–२० विश्वकपको सुपर १२मा प्रवेश गरेको हो।

समूह एमा रहेको नामिबिया समूहमा दोस्रो हुँदै सुपर १२मा प्रवेश गर्दा श्रीलंका समूह विजेताका रुपमा सुपर १२ पुग्यो। सुपर १२मा नामिबिया ग्रुप २मा परेको छ । यो ग्रुपमा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान र स्कटल्यान्ड छन्।

पहिला ब्याटिङ गर्दै आरयल्यान्डले दिएको १२६ रनको सामान्य लक्ष्य नामिबियाले १८.३ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। उसका लागि कप्तान जेरार्ड एरसमसले ४९ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा अविजित ५३ रन बनाए ।

यस्तै डेभिड विजाले १४ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा अविजित २८ रन जोडे बनाउँदा जान ग्रीनले २४ र क्रेग विलियम्सले १५ रन बनाए । आयरल्यान्डका कर्टिस क्याम्परले २ विकेट लिए ।

त्यसअघि शारजहामा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेटको क्षतिमा १२५ रन मात्र बनाउन सक्यो। उसका लागि पाउल स्टर्लिङले ३८, केभिन ओब्राइनले २५ र एन्डी बिल्लिनेइले २० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

आयरल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नामिबियाका जान फ्रायरलिंक ३ तथा डेविड विजाले २ विकेट लिए।