°
, June 4, 2023 in

हङकङविरुद्धको सिरिज बागमती प्रदेशले जित्यो

SHARE:

बागमती प्रदेशको महिला टोलीले बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखलाको निर्धारित ४० ओभरको २ खेलको श्रृंखला २–० ले सोमबार जितेको छ।

मूलपानी क्रिकेट मैदानमा भएको दोश्रो खेलमा बागमतीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई ४ विकेटले पराजित गर्दै श्रृंख्ला २–० ले कब्जा गरेको हो । पहिलो ४० ओभरको खेलमा बागमतीले हङकङलाई २ विकेटले हराएको थियो।

पहिले ब्याटिङ गरेको हङकङले २५ ओभरमा अलआउट हुँदै १०१ रन बनाएको थियो । हङकङकी कप्तान क्यारी च्यानले २२, इम्मा लाइले १६ र हेली लुइले १४ रन जोडे । बागमतीकी खुशी डंगोल र सोनी पाख्रिनले ३–३ तथा कप्तान अस्मिना कर्माचार्यले २ र विपिशा शाहीले १ विकेट लिए।

जवाफमा बागमतीले २९।२ ओभरमा ६ विकेट क्षतिमा १०२ रनको विजय लक्ष्य हासिल ग¥यो। बागमतीका सोनी पाख्रिनले २७, कञ्चन श्रेष्ठले २५ र सलिना सिलवालले अविजित २१ रन प्रहार गरे। हङकङका बेट्टी च्यानले ३, इम्माले २ र क्यारीले १ विकेट हात पारे।

प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको श्रृंखलाअन्तर्गत अब बागमतीले हङकङसँग २ टी– २० खेल खेल्ने छ। पहिलो खेल मंगलबार तथा दोश्रो बिहीबार हुनेछ।

SHARE: