
एसियन सेन्ट्रल जोन भलिबल उपाधि विजेता महिला टिम सम्मानित
गतमहिना बंगलादेशमा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको विजेता नेपाली महिला भलिबल टिम सम्मानत भएको छ। प्रधानमन्त्री शेरबहादुर दउवाले महिला भलिबल टिमलाई शुक्रबार नगदसहित सम्मान गरेका हुन्।
सरकारले उपाधि विजेता टिमका १२ खेलाडीलाई जनही पाँच लाख, प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई तीन लाख तथा व्यवस्थापकलाई दुई लाख रुपैयाँसहित सम्मान गरेको हो।
महिला भलिबल टिमलाई सम्मान गर्दै प्रधामनत्ती देउवाले खेलकुदमार्फत देशको नाम र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने महत्वपूर्ण र प्रभावकारी माध्यम भएको भन्दै खेलाडीको सुविधा विस्तारको विषयमा आवश्यक व्यवस्था मिलाउन सरकारले पहल गर्ने बताए । उनले भलिबलको माध्यमबाट नेपालको शीर उँचो बनाउन खेलाडीहरुले गरेको मेहनत अति नै प्रशंसनीय भएको बताए ।
‘भविष्यमा पनि नेपाली खेलाडीले भलिबललगायतका अन्य खेलकुद गतिविधिका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने प्रतियोगितामा सहभागी भई राम्रो नतिजा हासिल गरी नेपाल र नेपालीको शिर उँचो बनाउने कार्यमा निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएको छु”, प्रधानमन्त्री देउवाले भने।
सो अवसरमा प्रधानमन्त्री देउवाले विश्व ब्याडमिन्टन महासंघको पुरुष जुनियर एकलतर्फ विश्व वरियताको शीर्ष स्थानमा पर्न सफल ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पनि बधाई दिए।