एक खेलअगावै फाइनलमा पुगेको नेपाली महिला भलिबल टोलीले एभिसी सेन्टर जोन महिला भलिबलमा आफ्नो प्रभावशाली प्रदर्शन जारी राखेको छ । बुधबार फाइनल प्रतिद्वन्द्वीका रूपमा रहेको माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल समूह चरणमा शतप्रतिशत नतिजा निकाल्न सफल भयो । प्रतियोगितामा नेपाल एक्लो अपराजित टोलीका रूपमा छ ।
उपाधि भिडन्त पक्का भइसकेको माल्दिभ्समाथि पनि नेपाल पूर्ण रूपमा हाबी भयो । बंगलादेशमा चलिरहेको प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्ससँग अन्तिम खेल खेल्दै ३–० को सेटमा जित निकाल्यो ।
जितसँगै नेपाल उपाधि अभियानमा आफ्नो एकल दाबी प्रस्तुत गर्नसमेत सफल रह्यो । नेपालले लिगमा शतप्रतिशत नतिजा निकाल्दै चार खेलबाट १२ अंकका साथ आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । माल्दिभ्सले चार खेलबाट आठ अंक जोडेको छ ।
माल्दिभ्सले घरेलु टोली बंगलादेशको तुलनामा केही संयमित प्रदर्शन ग¥यो । ढाका मिरपुरस्थित सहिद सुरवार्दी इन्डोर हलमा माल्दिभ्सले पहिलो सेटको सुरुवातमा केही दबाब दिए पनि अन्तिमसम्म लय कायम राख्न नसक्दा नेपालसित पहिलो सेटमा २५–१४ ले पछि प¥यो ।
दोस्रो सेटमा माल्दिभ्स थप निरीह रह्यो । सुरुवातदेखि नै आक्रामक बनेको नेपाल २५–५ ले खेल आफ्नो पक्षमा ल्याउन सफल भयो । अन्तिम सेटमा केही प्रयास गरे पनि माल्दिभ्स २५–१३ मा समेटिन पुगेको थियो । माल्दिभ्सलाई सोझो सेटमा हराएसँगै नेपालले लिगका चारवटै खेलमा कुनै पनि सेट नगुमाई शतप्रतिशत नतिजाका साथ फाइनलमा स्थान बनायो ।
बिहीबार हुने फाइनलमा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै छ । समूह चरणका शीर्ष दुई टोलीबीच फाइनल हुने खेल तालिकाअनुसार नै नेपाल र माल्दिभ्सले एकअर्काविरुद्ध उपाधि भिडन्त गर्न लागेका हुन् ।
मंगलबार नेपालले आयोजक बंगलादेशलाई पराजित गरेसँगै माल्दिभ्स पनि फाइनलमा प्रवेश गरेको थियो । बिहीबार नै तेस्रो स्थानका लागि घरेलु टोली बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।