सन् २०२२को विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वे विजयी भएका छन् । बुधबार बिहान भएको खेलमा विश्वकपमा छनोट भइसकेको ब्राजिलले पाराग्वेमाथि ४–०को सहज जित निकाल्दा उरुग्वेले भेनेजुएलामाथि ४–१को जित निकाल्यो।
विश्वकपमा छनोट भइसकेको ब्राजिललाई फराकिलो जित दिलाउन राफिन्हा, फिलिपे कउटिन्हो, एन्थोनी र रोड्रिगोले गोल गरे ।
राफिन्हाले २८ औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा ब्राजिलले तीन गोल थप्यो । खेलको ६२ औं मिनेटमा कउटिन्हो, ८६ औं मिनेटमा एन्टोनी र ८८ औं मिनेटमा रोड्रिगोले गोल गरेपछि ब्राजिलले सहज जित हात पारेको हो ।
यस्तै मंगलबार राति भएको खेलमा उरुग्वे भेनेजुएलालाई ४-१ ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ ।
खेलको पहिलो मिनेटमै रोड्रिगो बेन्टानकुरले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा जिओर्जियन डी अरासकास्टाले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे ।
पहिलो हाफको इन्जुरी टाइमममा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेलाई पहिलो हाफमै ३-० को अग्रता दिलाए ।खेलको ५३औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमा गोल गर्दै उरुग्वेको अग्रता ४-० बनाए । भेनेजुएलाका लागि ६५ औं मिनेटमा जोसेफ मार्टिनेजले सान्त्वना गोल फर्काए ।
यसअघि नै विश्वकपमा छनोट भइसकेको ब्राजिल जितपछि १५ खेलबाट ३९ अंक जोडेर शीर्ष स्थानमा छ । पाराग्वे १३ अंकसहित नवौं स्थानमा छ । जितपछि १६ खेलबाट २२ अंक जोड्दै उरुग्वे चौथो स्थानमा उक्लेको छ र विश्वकप पुग्ने सम्भावना कायम राखेको छ । समान खेलबाट १० अंक मात्र रहेको भेनेजुएला अंङ्कतालिकामा पुछारमा छ र विश्वकपमा पुग्ने होडबाट बाहिरिसकेको छ ।