कतार विश्वकपको दक्षिण अमेरिकी छनोटका लागि ब्राजिलको टिम घोषणा गरिएको छ। नोभेम्बरमा हुने विश्वकप छनोटका २ खेलका लागि प्रशिक्षक टिटेले शुक्रबार २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।
प्रशिक्षक टिटे घोषणा गरेको २३ सदस्यीय टिममा मिडफिल्डर फिलिपे काउटिन्हो र स्ट्राकर रोबर्टो फिर्मिन्हो परेका छन्। बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका काउटिन्हो करिब १ वर्षपछि ब्राजिलयको टिममा फर्किएका हुन् । यता फिर्मिन्हो पनि कोपा अमेरिका फाइनलपछि ब्राजिलको टिममा परेका हुन्।
काउटिन्हो र फिर्मिन्हो टिममा फर्किंदा रियल मड्रिडका युवा स्टार भिनिसियस जुनियर भने टिममा अटाउन सकेनन् । रियलका लागि उत्कृष्ट प्रदर्शनका बाबजुद भिनिसियस टिममा पर्न असफल भए।
ब्राजिलले नोभेम्बरमा कोलम्बिया र अर्जेन्टिनाले विश्वकप छनोटको खेल खेल्ने छ। कोलम्बियासँगको खेल १२ नोभेम्बरमा हुने छ भने अर्जेन्टिनासँग १७ नोभेम्बरमा खेल हुनेछ। विश्वकप छनोटमा अपराजित रहेको ब्राजिल ११ खेलमा ३१ अंक जोड्दै शीर्ष स्थानमा छ।
यस्तो छ टिम
नेमार, म्याथुस कुन्हा, राफिन्हा, एन्थोनी, रोबर्टो फिर्मिन्हो, ग्याब्रिअल जेसुस, गेर्सन, लुकास पक्वेटा, फिलिपे काउटिन्हो, कासेमिरो, फाबिन्हो, फ्रेड, डानिलो, इमर्सन, एलेक्स सान्ड्रो, रेनान लोडी, इडस मिलिटाओ, लुकास भेरिसिमो, मार्किन्होस, थिएगो सिल्भा, एलिन्सन बेकर, इडर्सन, ग्याब्रिअल चापेको ।