°
, June 7, 2023 in

क्वार्टरफाइनलका ८ टिम को कस्ता ?

SHARE:

कतारमा जारी २२औं संस्करणको विश्वकपमा आजबाट क्वार्टरफाइलनका खेलहरु सुरु हुँदैछन्। क्वार्टरफाइलनमा युरोपबाट सर्वाधिक ५ टिम, दक्षिण अमेरिकाबाट २ र अफ्रिकाबाट १ टिम क्वार्टरफाइनल पुगेका छन्।

जसमा युरोपबाट इंग्ल्यान्ड, पोर्चुगल, क्रोएसिया, फ्रान्स र नेदरल्यान्ड्स छन् भने उत्तर अमेरिकाबाट ब्राजिल र अर्जेन्टिनाले अन्तिम ८मा स्थान बनाउँदा अफ्रिकाको प्रतिनिधित्व मोरक्कोेले गरेको छ।

क्वार्टरफाइनल पुगेका मध्ये दक्षिण अमेरिकी टिमले ७ विश्वकप उपाधि जितेका छन्, जसमध्ये ब्राजिलले ५ र अर्जेटिनाले २ पटक उपाधि जितेकाछन् । क्वार्टरफाइनल पुगेका ५ टिममध्ये २ टिमले मात्र अहिलेसम्म उपाधि उचाल्ने अवसर पाएका छन्। जसमा फ्रान्स दुई पटक च्याम्पियन बन्दा इंग्ल्यान्डले एक पटक उपाधि जितेको छ।

कतार विश्वकपका क्वार्टरफाइनल पुगेक ८ टिमका विशेषता यस्ता छन्-

ब्राजिल

अहिलेसम्म ब्राजिलको प्रदर्शन अब्बल छ, समूहको अन्तिम खेल बाहेक। युवा खेलाडीले भरिएको ब्राजिलले प्रिक्वार्टरफाइनलमा दक्षिण कोरियालाई ४–१ ले हराउँदै क्वार्टरफाइनल स्थान पक्का गरेको हो । पाँचपटकको विजेता ब्राजिलले यसपटक उपाधि विश्व फुटबलकै लिजेन्ड पेलेप्रति समर्पित गर्ने घोषणा गरेको छ । ब्राजिललाई तीनपटक विश्वकप उपाधि दिलाएका पेले अहिले अस्पतालमा उपचार गरिरहेका छन् । ब्राजिलियन भाषाअनुसार ब्राजिलले जोगो वोनिटो (सुन्दर खेल) खेलिरहेको छ ।

चोटग्रस्त नेमार मैदानमा फर्केका छन्, यसले ब्राजिललाई थप आत्मविश्वास प्रदान गरेको छ। सर्बियासँगको खेलमा चोट बोकेका नेमारले दक्षिण कोरियासँगको प्रतिस्पर्धामा उनले प्लेइङ ११ बाटै प्रतिस्पर्धा गरे । नेमारको उपस्थितिमा ब्राजिलले चालू विश्वकपमै एक असाध्य राम्रो खेल खेल्यो । अब ब्राजिलले सेमिफाइनल प्रवेश गर्न क्रोएसियाको सामना गर्नेछ । प्रशिक्षक टिटेले क्रोएसियालाई कमजोर नआक्ने बताएका छन् । गत संस्करणमा ब्राजिल युरोपियन टोलीबाट पराजित भएको थियो । ब्राजिललाई त्यही डर छ ।

क्रोएसिया

एभरेज खेलाडी भएपनि लागतार दोस्रो विश्वकपमा क्रोएसियाले राम्रो प्रदर्शन गरिरहेको छ। मिडफिल्डकै बलमा उसले बलिया मानिएका टिमलाई पाखा लगाउँदै आएको छ। लुका मोड्रिच, मेटियो कोभासिच । मार्सेलो ब्रोजोभिच क्रोएसियन टिमका ब्याक बोन हुन्।

क्रोएसियाको आक्रमण धारिलो नभएपछि डिफेन्स भने राम्रो छ । अनुभावी लोभ्रेनलाई युवा गाभार्डियोलको साथ छ भने गोलकिपर डोमिनिक लिभाकोभिच पनि फर्मममा छन्।

अब सेमिफाइनल प्रवेशमा क्रोएसियाले उत्कृष्ट फर्ममा रहेको ब्राजिलको सामना गर्नेछ । कतार विश्वकपमा सहभागी भएको क्रोएसिया चार वर्षअघिको जस्तो छैन । पाँचपटकको विजेता ब्राजिललाई पाखा लगाउन क्रोएसियाले थप शक्ति प्रदर्शन गर्नुपर्छ । यद्यपि, क्रोएसियाको खुबी भनेको प्रत्येक खेलमा बलियो हुँदै जाने हो । सम्भवतः क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिलविरुद्ध फरक खेल देखाउनेछ । 

अर्जेन्टिना 

अर्जेन्टिनाले विश्वकपकै पहिलो खेल बिर्सनेछैन । साउदी अरेबियासँग २–१ ले स्तब्ध भएको अर्जेन्टिनाले त्यसपछि लय समात्यो । साउदी अरेबियासँग गरेको गल्ती सच्याउँदै अगाडि बढेको अर्जेन्टिना क्वार्टरफाइनलसम्म आउँदा उपाधि दाबेदार बनिसकेको छ । कप्तान लियोनल मेसी पुरानै लयमा फर्कंदा अर्जेन्टिनाको आत्मविश्वास बढेको छ ।

अर्जेन्टिनाले पछिल्लो तीन खेल सहज रूपमा जितेको थियो । मेसीले घोषणा नगरे पनि कतार विश्वकप नै उनको अन्तिम विश्वकप धेरैले मानेका छन् । मेसीले प्रिक्वार्टरफाइनलमा अस्ट्रेलियाविरुद्ध जादुमयी खेल देखाए ।

उनकै प्रेरणादायी खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई हराउन सफल भयो । अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशको बाटोमा नेदरल्यान्ड्सलाई पछ्याउनुपर्छ । लियोनल स्कालोनीले नेदरल्यान्ड्सविरुद्ध फरक रणनीति अपाउनेछन् । अर्जेन्टिनाले पहिलोपटक बलियो प्रतिद्वन्द्वी पाएको छ । नेदरल्यान्ड्सको चुस्त आक्रमण तथा बलियो डिफेन्स तोड्ने रणनीति नै अर्जेन्टिनाको हो । 

नेदरल्यान्ड्स

लुइस भान गाल फेरि एकपटक नेदरल्यान्ड्सलाई विश्वकप उपाधिसमीप पु¥याउन चाहन्छन् । सन् २०१० मा उनकै प्रशिक्षणमा नेदरल्यान्ड्स उपविजेता बन्यो । आठ वर्षपछि विश्वकपमा फर्किएको नेदरल्यान्ड्स राम्रो ‘सेप’मा छ । मेम्पिस डेपायजस्ता स्टार खेलाडीले भरिएको नेदरल्यान्ड्सले प्रिक्वार्टरफाइनलमा सहज प्रतिद्वन्द्वी अमेरिका पाउँदा ३–१ ले बाजी मार्‍यो ।

यद्यपि, समूह चरणमा नेदरल्यान्ड्सले त्यति राम्रो खेल पस्कन सकेन । सोचेजस्तो स्कोरिङ गर्न नसक्दा नेदरल्यान्ड्सले फराकिलो अन्तरले जित निकाल्न चुक्यो । नेदरल्यान्ड्सका सबै खेलाडी ड्रिब्लिङ गर्न माहिर छन् । प्राविधिक रूपमा सशक्त देखिएको नेदरल्यान्ड्स आक्रमणमा त्यतिकै बलियो छ । सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सले लियोनल मेसीको नेतृत्वमा रहेको अर्जेन्टिनासँग खेल्नेछ । भान गालको नजर नै मेसीलाई स्कोरिङ गर्न रोक्नु हो । यसपटकको विश्वकपमा मेसी लयमा छन् । 

फ्रान्स

ट्युनिसियासँगको खेलबाहेक फ्रान्सले अरू खेलमा विपक्षीलाई आफूमाथि हावी हुने मौका दिएको छैन । फ्रान्सको मुख्य लक्ष्य नै ब्याक टु ब्याक विश्वकप उपाधि उचाल्ने हो । यो अभियानमा फ्रान्सलाई स्टार खेलाडीहरूले भरपूर साथ दिएका छन् ।

एक खेलअगाडि नकआउट चरणमा प्रवेश गरेको फ्रान्सले ट्युनिसियाविरुद्ध दोस्रो रोजाइका खेलाडीलाई उतारेको थियो । फ्रान्सले स्टार खेलाडीलाई आराम दिने उद्देश्यले नै दोस्रो सेटका खेलाडीलाई प्रतिस्पर्धा गरायो । तर, फ्रान्सले यसको मूल्य चुकायो र ट्युनिसियासँग १–० ले पराजित भयो । प्रशिक्षक डिडिएर डेस्चम्यानको योजना त्यही एक खेलमा मात्र असफल भएको हो ।

रसिया विश्वकपदेखि प्रशिक्षक डिडिएरले फ्रान्सेली टोलीलाई एकदम फरक र बलियो बनाएका छन् । फ्रान्सले क्वार्टरफाइनलमा युरोपकै कडा प्रतिद्वन्द्वी इंग्ल्यान्डको सामना गर्नेछ । इंग्ल्यान्डका बलियो रक्षापंक्ति तोड्ने र स्ट्राइकरलाई रोक्ने प्रमुख लक्ष्य नै फ्रान्सको हुनेछ । वर्तमान समयकै उत्कृष्ट युवा स्ट्राइकर साथमा रहेको फ्रान्सले इंग्ल्यान्डका सबै बलियो पक्ष भत्काउने हिम्मत राखेको छ । 

पोर्चुगल

समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २–१ ले पराजित भएपछि पोर्चुगलको क्षमतामै शंका गरियाे । तर, प्रिक्वार्टरफाइनलमा युरोपकै अर्को बलियो टोली स्विट्जरल्यान्डमाथिको ६–१ को जितले पोर्चुगलले सबै आलोचकको मुख बन्द गरेको छ । फर्नान्डो सान्तोषले नियमित कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्दै २१ वर्षीय स्ट्राइकर गोन्कालो रामोसलाई मौका दिएका थिए । प्राप्त मौकामै रामोसले कतार विश्वकपकै पहिलो ह्याट्रिक लगाए ।

प्रशिक्षक सान्तोषको यो रणनीति धेरैलाई मन परेको छैन । किनभने, नकआउट चरणमा प्रयोग गर्नु हानिकारक पनि बन्न सक्छ । पोर्चुगलले क्वार्टरफाइनलमा यस्तो गल्ती पुनः नदोहोर्‍याउने विश्वास समर्थकको छ । सेमिफाइनल प्रवेशका लागि पोर्चुगलले मोरक्कोको सामना गर्नेछ । प्रतियोगितामा एक मात्र अफ्रिकन टोलीका रूपमा पहिलो नकआउट चरण पार गरेको मोरक्कोको आत्मविश्वास ह्वात्तै बढेको छ । पोर्चुगलले मोरक्कोको बलियो रक्षापंक्ति तोड्ने रणनीति बनाउनेछ । 

इंग्ल्यान्ड

इंग्ल्यान्डले सन् १९६६ को विश्वकपपछि उपाधि जितेको छैन । इंग्ल्यान्ड विश्वकपको दाबेदार टोलीमै पर्छ । कतार विश्वकपको पछिल्लो तीन खेलमा इंग्ल्यान्डले क्लिन चिट राखेको छ । प्रिक्वार्टरफाइनलमा इंग्ल्यान्डले अफ्रिकन च्याम्पियन सेनेगलमाथि ३–० को सानदार जित निकाली अन्तिम आठको स्थान सुरक्षित ग¥यो । धेरैले वर्तमान इंग्ल्यान्डको टोली सन् १९६६ को भन्दा बलियो भनेका छन् ।

प्रशिक्षक गेराथ साउथगेटले चालू विश्वकपमा फरक–फरक रणनीति अपनाइरहेका छन् । यो विश्वकपमा इंग्ल्यान्डले डिफेन्स र फिनिसिङ पक्षलाई निकै बलियो बनाएको छ । विशेषतः इंग्ल्यान्डले आफ्नो शक्ति सेनेगलविरुद्ध देखाएको थियो । अफ्रिकन च्याम्पियन सेनेगललाई कुनै पनि समयमा आफूमाथि हावी हुन दिएन ।

इंग्ल्यान्डका फिनिसरले मौका पाउँदा गोल गर्न सक्छन् भन्ने सन्देश दिएका छन् । अब इंग्ल्यान्डले प्रतियोगिताकै साबिक विजेता फ्रान्सको सामना गर्दै छ । इंग्ल्यान्डका लागि फ्रान्स सहज प्रतिद्वन्द्वी पक्कै होइन । फ्रान्सका सबै खेलाडी फर्ममा छन् । फ्रान्सले विपक्षीमाथि एकपक्षीयजस्तो नतिजा निकालेको छ । इंग्ल्यान्ड विश्व च्याम्पियन फ्रान्सका केलियन एम्बाप्पे, एन्टोनियो ग्रिजम्यान र ओलिभर जिरुडलाई गोल गर्नबाट रोक्ने रणनीतिमै केन्द्रित भएको छ ।

मोरक्को

कतार विश्वकपमा मोरक्को क्वार्टरफाइनलमा पुग्छ भन्ने खासैले पत्याएका छैनन् । तर, सत्य यही हो । विश्वकपकै चौथो अफ्रिकन राष्ट्रका रूपमा मोरक्कोले क्वार्टरफाइनल स्थान पक्का गरेको छ ।

मोरक्कोले प्रिक्वार्टरफाइनलमा सन् २०१० को विजेता स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पा¥यो । मोरक्कोको बलियो पक्ष नै युरोपियन लिगमा आबद्ध खेलाडी छन् । मोरक्कोको बलियो पक्ष नै डिफेन्स र मिडफिल्ड हो । मोरक्कोका यी दुई पक्ष तोड्न स्पेनका खेलाडीले एक सय २० मिनेटसम्म सकेनन् । वालिड रेग्रागीले पोर्चुगलसँगको प्रतिस्पर्धामा केही फरक नपर्ने जनाएका छन् । 

SHARE: