समाचार

मुकेश र राममायाले जिते युथ ओपन फाइभ के रनको उपाधि

युथ ओपन फाइभ के रनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राममाया बुढाले जितेका छन् । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा मुकेशले र राममायाले मिहलातर्फको उपाधि जितेका हुन्।

उपाधि जित्ने क्रममा मुकेशले निर्धारित दुरी १५ मिनेट २७.८ सेकेन्डमा पुरा गरे। आर्मीकै श्रीकाश राई १६ मिनेट ०८.६ सेकेन्डको समयमा दुरी पार गर्दै दोस्रो भए। यस्तै, आर्मीकै सुशील कुमार शाही निर्धारित दुरी १६ मिनेट ०९.७ सेकेन्डमा पुरा गर्दै तेस्रो भए ।

पुरुषतर्फ नै पुलिसका नागेश्वर अहिर चौंथो, एपीएफका सन्जिब नेपाली पाँचौं हुँदा राजेन्द्र तामाङ छैटौं, शिव रायमाझी सातौं, मिङमार सिंह तामाङ आठौं, सन्दीप ढकाल नवौं र अक्कल पाल दशौं स्थानमा रहे ।

महिलातर्फ च्याम्पियन बनेकी राममायाले निर्धारित दुरी १८ मिनेट ५३.२७ सेकेन्डमा पार गरिन् । आर्मीका पुर्णलक्ष्मी न्यौपाने दोस्रो बनिन् । उनले निर्धारित दुरी १८ मिनेट ५५.५० सेकेन्डमा पुरा गरिन् ।

यस्तै, एपीएफकी आशा रावत निर्धारित दुरी १९ मिनेट ३९.३२ सेकेन्डमा पुरा गर्दै तेस्रो भइन्। सुमित्रा चौधरी चौथो, सुजना पाण्डे पाँचौं,अश्मिता भुजेल छैटौं, सुशन कार्की सातौं, सोनु घतानी आठौं, बबिता राई नवौं र विमला तामाङ दशौँ स्थानमा रहे ।

एथलेटिक्स परिवार नेपालको आयोजनामा भएको प्रतियोगिताको विजेता महिला र पुरुष खेलाडीले ट्रफी, पदकसहित समान २० हजार रुपैयाँ प्राप्त गरे।

यस्तै दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार, चौथो र पाँचौं हुनेले समान दुई हजार प्राप्त गर्दा छैटौं देखि दशौं स्थान सम्म हासिल गर्ने खेलाडीले समान एक हजार रुपैयाँ प्राप्त गरे।