खेलकुद विविध

भारतका सुमितले एमेच्योर ओपन गल्फको उपाधि, नेपालका सुभाष एक स्ट्रोकले पराजित

भारतका सुमित कोटवालले नवौँ नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । सुमितले नेपाल नम्बर एक एमेच्योर गल्फर सुभाष तामाङलाई एक स्ट्रोकले निराश पार्दै उपाधि जितेका हुन्।

गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन १ अन्डर ७१ को स्कोर गरेका सुमितले समग्रमा १३ अन्डर २०३ को नतिजाका साथ उपाधि चुमे । पहिलो दिन शीर्ष स्थानमा रहेका सुभाष समग्रमा १२ अन्डर २०४ स्कोरका साथ उपविजेता बने।

नेपाली युवा गल्फर सद्भाव आचार्यले दिनकै उत्कृष्ट ३ अन्डर ६९ को स्कोर बनाए । समग्रमा १० अन्डर २०६ स्कोर गरेका सद्भाव तेस्रो भएका छन् । भारतीय वरुण मुथाप्पाले समग्रमा २ अन्डर २१४ स्कोर गर्दै चौथो स्थानमा खेल सकाए।

सुमितसँग अन्तिम १८ होलको सुरुमा दुई स्ट्रोकको अग्रता थियो । सुमितले फ्रन्ट नाइन १ ओभर ३७ स्कोर गरे । पहिलो, तेस्रो र छैटौँ होलमा उनले एक–एक सट बचाए । तर, दोस्रो, पाँचौँ, सातौँ र आठौँ होलमा सुमितले बोगी खेपे । यस स्कोरमा सुमित सुभाषसँग फ्रन्ट नाइनमा एक स्ट्रोक पछि परेका थिए।

ब्याक नाइनमा सुमितले १२औँ, १३औँ, १४औँ र १५औँ होलमा बर्डी निकाले । ब्याक नाइनमा २ अन्डर ३४ स्कोर गरे । सुमितले सुभाषमाथि एक स्ट्रोकको अग्रता लिँदै च्याम्पियन ट्रफी उचाले ।

टिममा स्वर्ण जितेका सुभाषले व्यक्तिगततर्फ स्वर्ण जित्ने अपेक्षा राखेका थिए। उनले यसै योजना अनुरूप फ्रन्ट नाइन २ अन्डर ३४ स्कोर गरे । उनले चौथो, पाँचौँ र छैटौँ होलमा बर्डी प्रहार गरे। सातौँ होलमा एक सट खेर फालेका सुभाषले ब्याक नाइनमा लय गुमाए।

१२औँ होलमा एक सट बचाएका सुभाषले १७औँ होलमा डबल बोगीको सामना गरे । उपाधिविमुख हुनु नै यही होल रह्यो। त्यसपछि उनले १८औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन इभन पार ३६ स्कोर गरे।

सद्भावले फ्रन्ट नाइन ३ अन्डर ३३ को स्कोर गरे । पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरेका उनले पाँचौँ होलमा बोगी खेपे ।