उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौं जिल्ला कार्यसमितिले विश्व वातावरण दिवसको अवसरमा प्रथम हिसान म्याराथन–२०२३को आयोजना गर्ने भएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हिसान काठमाडौं जिल्ला कार्यसमितिले विश्व वातावरण दिवसको अवसर पारेर जेठ २२ गते प्रतियोगीता आयोजना गरिरहेको जानकारी दिएको हो।
वातावरण संरक्षण आजको एक महत्वपूर्ण चुनौती भएको बताउँदै हिसान काठमाडौंले वातावरण आफैँमा एउटा बहुआयामिक विषय रहेको सन्दर्भमा हिसानलेपनि यसको महत्वलाई दर्शाउने हिसाबले विश्व वातावरण दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।
प्रतियोगिता जेठ २२ गते बिहान ७ बजे हिसान कार्यालय रहेको ट्रेड टावर थापाथलीबाट युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूको उपस्थितिमा सुरू हुने हिसान काठमाडौंले जनाएको छ। हिसानका सदस्य संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरुले करिब ४ किलोमिटरको दूरीमा दौड सञ्चालन हुने र तोकिएको तहका नियमित विद्यार्थीहरुले मात्र प्रतियोगितामा भाग लिन पाउने प्रथम हिसान म्याराथनका कार्यक्रम संयोजक कृष्ण गौतमले जानकारी दिए।
प्रतियोगितामा महिला र पुरुष गरी करिव ३ सय जना प्रतिष्पर्धी सहभागी हुने र महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितिय र तृतियलाई क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार राशिको पुरस्कार व्यवस्था गरिएको हिसान काठमाडौंले जानकारी दिएको छ।