महिला फुटबल : जाम्बियालाई हराउँदै ब्राजिल क्वार्टरफाइलनमा, अस्ट्रेलियासँग रोकियो अमेरिका

जापानको टोक्योमा जारी ओलम्पिकको महिला फुटबलमा ब्राजिलले दोस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा आन्द्रेसाको निर्णायक गोल मद्दतमा ब्राजिलले जाम्बियालाई १–०ले हरायो ।

यसअघि समूह एफमा रहेको ब्राजिलले पहिलो खेलमा चीनलाई ५–०ले हराएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्सँग ३–३ गोलको बराबरी खेलेको थियो। मंगलबार भएको खेलमा ब्राजिललाई जित दिलाउन आन्द्रेसाले १९ मिनेटमा गोल गरेकी थिइन्।

यस्तै, समूह एफकै अर्को खेलमा नेदरल्यान्ड्सले चीनमाथि ८–२को फराकिलो जित निकालेको छ। नेदरल्यान्ड्सको पनि यो दोस्रो जित हो। नेदरल्यान्ड्सका लागि लिक मर्टेन्स, लिनेथ बिरेन्स्टियन र भिभिन्ना मिडेमाले समान २ गोल गर्दा सनिस भान डे सन्डेन र भिक्टोरिया पेलोभाले समान १ गोल गरे । चीनका सन्साङ वाङ र यन्विन वाङले गोल गरे।

समूह एफबाट ब्राजिल र नेदरल्यान्ड्स दुवै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। नेदरल्याड्स समूह विजेता र ब्राजिल उपविजेताका रुपमा क्वार्टफाइनल पुगेका हुन्।

यसैगरी विश्व च्याम्पियन अमेरिका अस्ट्रेलियासँग गोलरहित बराबरीमा रोकिएको छ। समूह जीमा एक जित र एक बराबरी खेलेको अमेरिका दोस्रो हुँदै क्वार्टरफाइलन पुगेको छ। समूह जीबाटै स्वीवडेन समूह विजेताका रुपमा नकआउट चरण पुगेको छ।

क्वार्टरफाइनलमा ब्राजिलले क्यानडासँग खेल्ने छ भने नेदरल्यान्ड्सले अमेरिकाको सामाना गर्ने छ।

Facebook Comments Box