मास्क लगाएर मैदानमा ब्राजिलियन खेलाडी

कोरोना कहरबीच खेलकुदको महाकुम्भ ओलम्पिक जापानको टोकियोमा जारी छ । अधिकांश खेलका खेलाडीले कोभिड– १९ को आधारभूत नियमसमेत पालना गरेका देखिँदैनन् ।

तर, ब्राजिलको पुरुष तथा भलिबल खेलाडीहरूले टोकियो ओलम्पिकमा उदाहरणीय काम गरेका छन् । यी दुवै खेलका खेलाडीहरूले कोर्टमा मास्क लगाएर प्रतिस्पर्धा गरेका छन् । रियो ओलम्पिकमा स्वर्ण जितेको ब्राजिलियन पुरुष टोली टोकियोमा उपाधि रक्षा गर्ने अभियानमा छन् ।

साथै उनीहरू कोभिड– १९ बाट सचेत पनि छन् । कोर्टमा मास्क लगाएर कोरोनाको नियम पालना गरेको उदाहरण उनीहरूले दिएका हुन् । पुरुषतर्फका लुकास तथा महिलातर्फ माक्रिस कार्नेरोले सोमबारको प्रतिस्धर्पामा अन्य खेलाडीलाई समेत मास्क लगाउन आग्रह गरेका थिए ।

कार्नेरोले कोरोनाबाट बच्नकै लागि मास्क लगाएको बताइन् । आफू र अन्य खेलाडीलाई सुरक्षित राख्नकै लागि मास्क लगाएको उनको भनाइ छ । ‘कोरोना संक्रमित हुँदा लामो समय आइसोलेसनमा बस्नुपर्छ, यसले म र मेरो परिवारले दुःख पाउनेछ,’ उनले भनिन्, ‘बच्चाहरूको सुरक्षा निमित्त पनि यस्तो गरेकी हुँ ।’

यसैगरी लुकासले पनि कोरोना भाइरसबाट सुरक्षित रहनकै लागि मास्क लगाएको बताए । ‘म पुनः एकपटक संक्रमित हुन चाहन्न,’ लुकासले भने, ‘साथीहरूलाई पनि मास्क लगाउन भनेको छु ।’

Facebook Comments Box