टोक्यो ओलम्पिकमा भारतले खोल्यो पदकको खाता

जापानको टोक्योमा जारी ओलम्पिकमा भारतले पदकको खाता खोलेको छ। भारतलाई मीराबाई चानूले पहिलो पदक दिलाएकी छिन् ।

भारोत्तोलनको ४९ किलोग्रामतर्फको स्पर्धामा चानूले भारतलाई रजत पदक जिताएकी हुन् । भारतले ओलम्पिकमा भारोत्तोलनमा पहिलो पटक रजत पदक जितेको हो ।

यस स्पर्धामा चीनकी होउ जुहईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले कांस्य पदक जितिन् ।चानूले २०२ किलोग्राम तौल उठाएर भारतलाई रजत पदक दिलाएकी हुन् । स्वर्ण पदक विजो जुहईले २१० किलोग्राम तौल उचालेकी थिइन् ।

भारतलाई टोकियो ओलम्पिक–२०२० मा पहिलो पदक दिलाउन सफल चानूलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

त्यस्तै इरानका सुटर जवाद फोरोघीले १० मिटर एअर पिस्तोलमा स्वर्ण पदक जिताएका छन् । ४१ वर्षीय फोरोघी इरानका लागि ओलम्पिकमा पदक दिलाउने सबैभन्दा बढी उमेरमा खेलाडी हुन् । यसअघि सन् १९५६ मा मेलबर्नमा भएको खेलमा ३८ वर्षीय महमुद नाम्जौले कांस्य पदक दिलाएका थिए ।

जारी ओलम्पिकमा अहिलेसम्म २ स्वर्ण र १ कांस्यसहित चीन पहिलो स्थानमा छ ।

Facebook Comments Box