हेटौडामा भएको पुरुष राष्ट्रिय भलिबलको उपाधि विभगाीय टिम एपिएफले जितेको छ। केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा फाइनलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफले उपाधि जितेको हो।
‘बेष्ट अफ फाइभ’मा खेलाइएको खेलमा एपिएफले ३–१को जित निकाल्दै उपाधि जितेको हो । खेलको पहिलो सेट २५–२० जितेको एपिएफले दोस्रो सेटमा १७–२५ ले गुमाएको थियो । त्यसपछि तेस्रो र चौथो सेट २५–१७ र २९–२७ ले जित्दै एपिएफले उपाधि जित्यो ।
उपाधिसँगै एपिएफले २ लाख रुपैयाँ प्राप्त ग¥यो भने आर्मीले १ लाख रुपैयाँ प्राप्त ग¥यो। यस्तै, सेमिफाइलनमा पराजित भएका नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले ५० हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा एपिएफका विजय थापा घोषित सर्वोत्कृष्ट खेलाडी बने। उनले १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै, बेष्ट सेटर एपिएफका सुवास कुँवर, बेष्ट स्पाइकर त्रिभुवन आर्मीका शरण सामारी, बेष्ट डिफेण्डर आर्मीकै ईश्वर थापा, बेष्ट बल्कर आर्मीकै खेलाडी सरोज चौधरी बन्दा ‘बेष्ट कोच’ एपिएफका पुष्पजङग मल्ल बने। उनीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, मकवानपुर जिल्ला भलिबल संघ, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङ्जा र पाथिभरा टाईगर भलिबल टिम झापासहित सात समूहको सहभागिता थियो।
प्रतियोगितालाई हेटौंडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश सहयोगीका रुपमा रहेका र खेलमा लगभग २५ लाख खर्च भएको प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले बताए।