काभा नेशन्स लिग खेल्न पुरुष राष्ट्रिय भलिबल टिमको बिदाइ गरेको छ। नेपाल भलिबल संघले किर्गिस्तानको बिस्केकमा हुने लिग खेल्ने नेपाली टिमलाई बिहीबार बिदाई गरेको हो । प्रतियोगिता असार ३ देखि १० सम्म अयोजना हुने छ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले नेपाल टिमको बिदाइ गरे।
सेन्ट्रल एसियन भलिबल संघ (काभा)अन्तर्गत माथिल्लो वरीयताका टिमहरुसँग नेपालले नेसन्स लिगमा प्रतिस्पर्धा गर्दैछ । नेसन्स लिगमा आयोजक किर्गिस्तानसँगै नेपाल, इरान, मंगोलिया, काजकस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन्। प्रतियोगिता राउण्ड रोविन प्रणालीमा हुनेछ।
नेपालले यसलाई साउनमा श्रीलंकामा हुने सेन्ट्रल एसियन सिनियर मेन्स भलिबल र असोजमा हुने एसियाली खेलकुदको तयारीका रुपमा लिएको छ।
लिगमा नेपाली टिमको कप्तानी हरिहजुर थापाले गर्ने छन् । उनले इम रानामगरको स्थानमा कप्तानीको जिम्मेवारी पाएका हुन्।
नेपाली टिम प्रशिक्षक जगदीश भट्ट र सहायक प्रशिक्षक भरत यादवको प्रशिक्षणमा नेपाल टिमले एक महिना तयारी गरेको हो। आर्थिक अभावमा बन्द प्रशिक्षण भने राखिएको थिएन।
नेपाली टिम ः हरिहजुर थापा, लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल र भीमबहादुर गाहा ।