लुका मोड्रिच : शरणार्थी सुपरस्टार

क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलसम्म पुर्‍याएका कप्तान लुका मोड्रिच यसपटकको विश्वकपमा सबैभन्दा चर्चा गरिएका खेलाडी हुन् । क्रोएसियाले विश्वकप फाइनलमा स्थान बनाउन जति संघर्ष गर्‍यो, त्योभन्दा धेरै गुणाबढी र कठीन संघर्ष मोड्रिचले फुटबल खेल्न गरेका छन् ।

०००

त्यतिबेला क्रोएसिया तत्कालिन युगोस्लाभियाको एउटा राज्यमात्र थियो । घन्टौंसम्म बमको वर्षा भइरहन्थ्यो । वरिपरिका अग्ला डाँडाका टुप्पाबाट हजारौं सेल ग्रिनेड पानीजसरी बर्सिन्थे । सानो घरको पुरानो खाटलाई ढाल बनाएर एउटा परिवार बम छल्थ्यो । जब बमको वर्षा रोकिन्थ्यो, सानो लुका मोड्रिच खाटमुनीबाट निस्केर मुसुक्क हाँस्थे, फुटबल बोक्थे र घरबाट टाढा रहेको मैदान पुग्थे । युद्ध चर्कदै गरेको अवस्थामा खेल्न गएका उनी खेलेर फर्कन्छन् वा फर्कदैनन् त्यसको टुंगो हुँदैनथ्यो । उनी नफर्किन्जेल पुरै परिवार त्रासमा हुन्थ्यो ।

०००

गोलीका खोका र ग्रिनेडका शेलले भरिएको अनि बारुदको धुवाँमा रुमल्लिएको सहरमा मोड्रिचले फरक धार समाए । बिध्वंशको चरम नमुना बनेको सहरमा मोड्रिचले फुटबलको सुन्दरता रोजे ।

मोड्रिच हरेकपल्ट बल ड्रिबल गर्दा वरिपरि युद्धको कालो बादल बिर्सन्थे । गोलहरू हुन्थ्यो, खुशी मनाउँथे र बाँकी सबथोक बिर्सिन्थे । फुटबल खेल्न पाउँदा ६ वर्षिय मोड्रिच स्वतन्त्र र आफू आत्मविश्वासी भएको महसुस गर्थे । त्यस्तो महसुस गर्न पाउनु उनको उमेरका सबै बालबालिकाको नैसर्गिक अधिकार हो तर, युद्धले अधिकांशबाट त्यो हक खोसेको थियो । त्यसको सट्टा जीवनमा मृत्युको त्रास भरिदिएको थियो ।

०००

सन् १९८५ मा भेलेबिट हिमालको काखमा रहेको दुर्गम पहाडी भेग मोड्रिचीमा जन्मिएका थिए लुका मोड्रिच । उनको बाल्यकाल अस्वभाविक थियो । नजिकैको ऊन फ्याक्ट्रीमा काम गर्ने स्टाइप र राडोज्काका जेठा छोरा मोड्रिच हजुरबुबासँग हुर्किए । समयसँगै हजुरबुबा लुका सिनियर र लुका मोड्रिचको सम्बन्ध यति निकट भयो की उनीहरूको सम्बन्धलाई सबैले नङ र मासुको जस्तै भन्थे ।

परिवारिक सम्बन्ध सुमधुर भए पनि देशको अवस्था त्यस्तो थिएन । क्रोएसियालाई तत्कालीन युगोस्लाभियाबाट अलग बनाएर स्वतन्त्र क्रोएसिया बनाउन सशस्त्र युद्ध गर्ने तरखर हुँदै थियो । क्रोएसियामा बस्ने सर्बियनहरू क्रोएसियालाई छुट्टै देश बनाउन सहमत भएनन् । सबै सन्धी र युद्धविरामका सम्झौता तोड्दै क्रोएसिया युद्धमा गयो । स्वतन्त्रता संग्रामको मुख्यकेन्द्र नै मोड्रिची थियो । मोड्रिचका पितालाई पनि जबरजस्ती क्रोएसियन आर्मीमा भर्ती गराइयो । उनी युगोस्लाभियाको आर्मी र सर्बियाको सशस्त्र दस्तासँग लडाइँ गर्न गए । विपक्षीले क्रोएसियाको क्रान्ति कमजोर बनाउन मोड्रिची सहर घेरेर सम्पर्क र यातायात ठप्प पारे ।

०००

सन् १९९१ को डिसेम्बर १८ मा मोड्रिचका हजुरबुबा गाईवस्तु चराउन गएको बेला विपक्षीले उनीसहित ७ जना क्रोएसियनलाई बन्दी बनाएर जेसेनिस शहर लगे । खुलामैदानमा सबैले देख्नेगरी निर्मम हत्या गरे । मोड्रिच र हजुरबुबाको सम्बन्ध निकटको थियो, हजुरबुबाको हत्याले उनको बालमस्तिष्कमा ठूलो आघात पुग्यो । उनी हजुरबुबाको मृत्युको भुल्न फुटबलमा नै बढी केन्द्रित भए ।

दिनहुँ क्रोएसियनहरु बन्दी बनाइने र निर्मम रुपमा हत्या हुने क्रम बढ्दै गयो । छोराछोरीको ज्यान र भविष्य जोगाउने उपाय नभएपछि मोड्रिच परिवारले मोड्रिची छाडे । र, लक्ष्यबिहीन शरणार्थीको यात्रा सुरु गरे ।

अन्ततः उनीहरूले जदार सहरको कोलोभारे होटलमा शरण पाए । हरेक शरणार्थी धैर्यको सीमा तन्काउन बाध्य हुन्छ । शरणार्थीको ट्याग हटाउन ऊसँग मृत्युको विकल्प धैर्य बाहेक अन्य केही हुँदैन । मोड्रिच परिवारले ७ वर्ष जदारमा धैर्य गर्‍यो । तर, जुन युद्धबाट भाग्दै उनीहरू जदार आएका थिए, त्यही युद्ध उनीहरूलाई खेल्दै जदारसम्मै आइपुग्यो ।

फेरि ग्रिनेडहरू मृत्युको सन्देश बोकेर ढोकै अगाडि पड्किन थाले, आँगनभरि गोलीका खोकाहरु छरिन थाले । यस्तो बेलामा छरछिमेकको साथ र शरण अपरिहार्य थियो । उनीहरू बस्ने होटलमा भएका अधिकांश क्रोएसियन शरणार्थी थिए । अन्तर्मुखी स्वभाव भए पनि मोड्रिचले थुप्रै साथी बनाए । तिमध्ये उनका सबैभन्दा मिल्ने साथी थिए, क्रोएसियाकै शरणार्थी मार्को ओस्ट्रीच । बम पड्किन बन्द हुनेवित्तिकै दुवै कहिले होटलको पार्किङमा फुटबल खेल्न पुग्थे भने कहिले होटलको हलमै फुटबल खेल्थे । उनीहरूलाई खुट्टामा फुटबलबिना देखिँदैनथ्यो । युद्धको त्रास कम गर्न मोड्रिचले फेरि पनि फुटबल रोजेका थिए ।

 

०००

मोड्रिचको फुटबल खेल सानैदेखि मनमोहक थियो । उनको खेल होटलका एक कर्मचारीलाई खुबै मन पराउँथे । तिनै कर्मचारीले स्थानीय क्लब एनजी जदारका निर्देशक जोसिप बाजिलोलाई मोड्रिचको खेल हेर्न बोलाए । तिनले मोड्रिच बारे गरेको बयानले प्रभावित भएका बाजिलो मोड्रिचको खेल हेर्न होटल आए । पार्किङमा फुटबल खेलिरहेका मोड्रिचको कौशल देखेर बाजिलो प्रभावित भए । उनले तत्कालै मोड्रिचलाई आफ्नो विद्यालयमा समेत पढ्न पाउनेगरी क्लबको एकेडेमीमा भर्ना गरे । तर, पढाइको शुल्क तिर्ने मोड्रिच परिवारको हैसियत थिएन र शरणार्थीलाई कसैले प्रायोजन पनि गर्दैनथे । भाग्यवश, काका पर्ने एकजनाले उनको शुल्क तिर्ने व्यवस्था मिलाइदिए । त्यसपछि सुरु भयो अकल्पनीय र असम्भवजस्तै लाग्ने मोड्रिचको फुटबल स्टारडमको यात्रा ।

तर, उनको यो यात्रा कुनै पनि मोडमा सहज भएन । अलि ठूलो हावा चल्यो भने उडाउलाजस्तो ख्याउटे शरीर भएका मोड्रिचलाई क्लबमा स्थान बनाउन धेरै संघर्ष गर्नु पर्‍यो । खेलकौशल मात्र भएर हुँदैन, युरोपमा व्यावसायिक फुटबल खेल्न मैदानमा विपक्षीको सामना गर्न सक्ने शरीर पनि चाहिन्छ । सानैदेखि उनको बल कन्ट्रोल गर्ने र अघि बढाउने क्षमता लोभलाग्दो थियो, मोड्रिचको । उनका प्रशिक्षक दोमागोज बेसिचले कल्पना गरेका हरेक मुभ उनले गरेर देखाउँथे । क्लबको युथ एकेडेमीका निर्देशक तोमिस्लाभ बेसिच उनको ठूलो प्रशंसक थिए । बेसिचले नै उनको आत्मविश्वास बढाउन सहयोग गरेका थिए र उनकै प्रेरणामा मोड्रिचले खेल र शरीर दुवैमा सुधार गर्दै लगे । त्यसैले मोड्रिचले उनलाई आफ्नो खेलजीवनको ‘गडफादर’ मान्छन् ।

०००

१२ वर्षको उमेरमा उनलाई मनपर्ने अर्को क्लब हाज्दुक स्प्लिटले ट्रायलका लागि बोलायो । यो मोड्रिचका लागि ठूलो अवसर थियो तर, फेरि उनको कमजोर शारिरिक बनोटले धोका दियो । हतोत्साही भएका मोड्रिचलाई फेरि तोमिस्लाभ बेसिचले नै सम्हाले । उनले मोड्रिचको शरीर र फिटनेसका लागि व्यक्तिगत ट्रेनर नै राखिदिए । त्यसपछि मोड्रिच बल्ल ‘फुटबलर’जस्तो देखिन थाले । किशोरावस्थामै देशकै सबैभन्दा ठूलो क्लब डाइनामो जाग्रेबले उनलााई खेल्न अफर गर्‍यो । त्यही समय इटालीमा उमेर समूहको प्रतियोगितामा खेल्न गएका थिए । त्यतिबेलै मोड्रिचको खेल हेरेका सिरिएका ठूला क्लबहरू युभेन्टस, इन्टर मिलान र पार्माले पनि उनलाई भित्र्याउन चासो दिए । तर, बेसिचले उनको मानसिक विकासका लागि क्रोएसियामै बस्नु उचित ठानेर डाइनामो जाग्रेबमा मोड्रिचलाई अनुबन्ध गराए ।

डाइनामोको युवा टिममा एक सिजन खेल्दा मोड्रिचले केही खेलमा आफ्नो क्षमता देखाए पनि क्लबलाई प्रभावित गर्न सकेनन् । किनकी, जदारमा उनी सबैभन्दा राम्रो फुटबलर भए पनि क्रोएसियाको राजधानी जाग्रेबका लागि उनी सिनियर टिममा स्थान बनाउन संघर्षरत अनेकन क्षमतावान खेलाडीमध्ये एक मात्र भए । मोड्रिचले आफ्नो क्षमता अनुसार खेल्न शारिरिक मात्र होइन मानसिक विकास पनि उत्तिकै आवश्यक छ भन्ने निर्णय गर्दै क्लबले उनलाई सन् २००३ मा बोस्नियाको क्लब ज्रिन्स्की मोस्टारमा लोनमा पठायो ।

त्यसबेला बोस्नियामा उनले खेल्ने लिग ‘लिगा १२’ संसारकै सबैभन्दा भंग्जा र ‘फिजिकल’ लिग मानिन्थ्यो । मैदानमा रग्बीजस्तै बल प्रयोग गरेर फुटबल खेलिन्थ्यो ‘लिगा १२’मा । त्यहाँका दर्शक खेलाडीभन्दा उग्र थिए । तर, मोड्रिचले हिम्मत हारेनन् । उनले आफ्नो खेलकौशल र बल खेलाउने कला निखार्दै लगे, सँगसँगै आत्मविश्वास र मनोबल पनि बढाए । मोड्रिचले त्यो सिजन लिगा १२ को उत्कृष्ट खेलाडीको अवार्ड जित्दै आफ्नो क्षमतामा प्रश्न उठाउने सबैको मुख बन्द गरिदिए । तर, उनको आफ्नो क्लब, डाइनामो जाग्रेब, जसको विश्वास जित्न सबैभन्दा आवश्यक थियो, त्यसको विश्वास जित्न भने मोड्रिचले सकेनन् ।

डाइनामोले अर्को सिजन क्रोएसियाकै अर्को क्लब इन्टर जाप्रेसिचमा उनलाई फेरि लोनमा पठायो । इन्टर जाप्रेसिच डाइनामोको एकेडेमीजस्तो क्लब थियो । डाइनामोले किनेका क्षमतावान किशोर खेलाडीलाई अनुभव र फस्र्ट–क्लास फुटबलको कखरा सिकाउन इन्टरमा पठाइन्थ्यो । उनले इन्टरमा पनि जादु देखाए । मोड्रिचकै प्रदर्शनमा त्यो सिजन इतिहासमै पहिलोपटक इन्टर लिगको उपविजेता भयो । र, अहिलेसम्म इन्टरले त्ये उपलब्धि हाँसिल गर्न सकेको छैन । उनको त्यो प्रदर्शनले क्रोएसियामा सनसनी मच्चायो । त्यसपनि उनलाई सिधै क्रोएसियाको यू–२१ को राष्ट्रिय टोलीमा समावेश गरियो ।

 

अन्ततः डाइनामोले मोड्रिचको लगनशीलता र क्षमताको अगाडि घुँडा टेक्यो । र, मोड्रिचलाई १० वर्षका लागि अनुबन्धन गर्‍यो । त्यो पैसाले उनले अरूले जस्तो आफ्ना लागि राजधानीमा भव्य महल वा फेन्सी गाडी किनेनन्, जदारमा परिवारको लागि एउटा अपार्टमेन्ट किने । मोड्रिच परिवारले उनका लागि गरेको संघर्ष र धैर्यताको लागि यो पर्याप्त त थिएन तर, आफ्नै देशमा होटलको एउटा कोठामा शरणार्थी भएर बसेको सिंगो परिवारले १३ वर्षपछि ‘घर’ पाएको थियो । शरणार्थीका लागि योभन्दा ठूलो कुरो अरु के हुन सक्छ ?

पारिवारिक जिम्मेवारीको बोझ अपार्टमेन्ट किनेर थन्काएसँगै मोड्रिच मैदानमा झन् खुल्न थाले । त्यसपछि उनको खेलमा अलग आत्मविश्वास देखियो । डाइनामोको माक्सिमिर स्टेडियममा ४ वर्षमा ३१ गोल र २९ एसिस्ट गर्दै उनले मैदानको हरेक भागमा आफु दक्ष रहेको साबित गरे । चार सिजनमा उनले तीन पटक लिग जिताए भने अरु तीन कप पनि जिताए । उनले वर्षको उत्कृष्ट खेलाडीको उपाधी जितेका मोड्रिचले सन् २००६ मा अर्जेन्टिनाविरुद्ध सिनियर राष्ट्रिय टिमबाट डेब्यु गरे ।

०००

क्रोएसियाको घरेलु लिगमा लुकेको मिडफिल्डको जादुगरले अब युरोपका ठूला प्रतियोगितामा जादु देखाउन थालिसकेको थियो । र, त्यो जादुले युरोपका ठूला लिगका ठूला क्लबहरुलाई पनि प्रभावित पारिसकेको थियो । सन् २००८ मा एकैपटक तीनवटा क्लबले उनलाई अनुबन्ध गर्ने इच्छा देखाए । आर्सनल त्यसमा सबैभन्दा अगाडि थियो । तर, आर्सेन वेंगरले उनको तुलनात्मक रूपमा कमजोर शारीरिक बनोटले प्रिमियर लिगको खेल धान्न सक्नेमा द्विविधा देखाए । त्यसपछि, बार्सिलोनाले उनलाई क्याटालोनिया नै लगेर ट्रायल लियो । मोड्रिचको खेलले सबै प्रभावित पनि भए । मोड्रिच पनि बार्सिलोना जान इच्छुक थिए । तर, अन्तिम समयमा बार्सिलोनाले सही समयमा सही निर्णय लिन सकेन र विश्वफुटबलको सर्वोत्कृष्ट मिडफल्डर बन्ने मार्गमा अग्रसर रहेका खेलाडीलाई आफ्नै आँगनबाट फिर्ता पठायो ।

उता, लन्डनको क्लब टोटेनह्याम हटस्पर्सले सो सिजन ११औं नम्बरमा लिग सकाएको थियो । उसलाई आफ्नो शाख जोगाउन उत्कृष्ट खेलाडीको आवश्यकता थियो । टोटेनह्यामले जब मोड्रिचको खेल देख्यो, सबथोक छाडेर उनलाई अनुबन्ध गर्नतिर लाग्यो । अन्ततः जाग्रेबबाट टोटेनह्यामले कीर्तिमानी मूल्यमा १६.५ पाउन्डमा मोड्रिचलाई लन्डन ल्यायो । यसअघि सन् २००७ मा टोटेनह्यामले डारेन बेन्टलाई १६.५ पाउन्डमा अनुबन्ध गर्दा उनी क्लबका सबैभन्दा महँगा खेलाडी थिए ।

प्रिमियर लिगको समर ट्रान्स्फरमा पहिलो अनुबन्धनका रूपमा टोटेनह्याम आएका मोड्रिचको ह्वाइट हार्ट लेनमा सिजनको सुरुवात भने बिर्सनलायकको रह्यो । क्लबको दुर्दिन र मोड्रिचको खराब फर्म एकैपटक पर्दा टोननह्यामको सो सिजनको सुरुवात इतिहासकै खराब रह्यो । टोननह्यामले सुरुका ८ खेलमा मुश्किलले दुई बराबरी खेल्यो । त्यसपयिछ उनको अनुबन्ध र क्षमतामा नै प्रश्न उठ्न थाल्यो ।

टोटेनह्यामका तत्कालिन व्यवस्थापक जुआन्डे रामोसले मोड्रिचलाई करियरमै पहिलोपटक लेफ्ट विङबाट खेलाएका थिए । रामोसले मोड्रिचको मैदानको जुनसुकै भागबाट पनि खेल्नसक्ने क्षमता पहिचान गरेर त्यस्तो निर्णय गरेका थिए, तर त्यो उपयोगी भएन र उनलाई बर्खास्त गरियो । उनको सट्टा आएका नयाँ व्यवस्थापक ह्यारी रेडन्यापले भने मोड्रिच कुन पोजिसनमा खेल्दा बढी खुल्न सक्छन् भन्ने पहिल्यै बुझेका थिए । त्यसैले उनले मोड्रिचलाई टोटेनह्यामको खेलको मियो बनाउँदै सेन्ट्रल मिडफिल्डमा खेलाए । त्यो पोजिसनबाट खेल्दा लन्डनकै प्रतिद्वन्द्वी क्लब आर्सनललाई ४–४ को बराबरीमा रोकेको खेल मोड्रिचको करियरको टर्निङ प्वाइन्ट बन्यो ।

त्यसपछिका ४ वर्ष टोटेनह्याम आक्रामक फुटबलको पर्यायजस्तै बन्यो भने टोटेनह्यामको आक्रमणको दिशानिर्देश मोड्रिचले गरे । मोड्रिचले टोटेनह्यामबाट एउटा पनि उपाधि जित्न सकेनन् तर, टोटेनह्यामबाट आशा मारिसकेका समर्थकलाई हरेक खेलमा स्टेडियमसम्म ल्याएर क्लबको डुबिसकेको लेगेसी उकास्न भने उनले अतुलनीय योगदान गरे । चाहे त्यो पहिलो च्याम्पियन्स लिग सहभागिता होस् वा हरेक हप्ता हुने लिगका खेल, मोड्रिचको जादुमा लन्डन लट्ठ भएको थियो ।

टोटेनह्यामका लागि १६० खेलमा १७ गोल गरेका मोड्रिचले गोल गर्नेभन्दा पनि मिडफिल्ड एक्लै धानेर टिमलाई अगाडि बढेर आक्रमण गर्ने स्पेस दिएका थिए । जोसे माउरिन्होले संसारको सबैभन्दा प्रतिष्ठित क्लब रियल म्याड्रिड सम्हालेर मोड्रिचलाई भित्र्याउन चाहेपछि मोड्रिचसँग नाई भन्ने कारण थिएन । टोटेनह्यामका अध्यक्ष डेनिएल लेभी उनलाई बेच्न चाहँदैनथिए तर, मोड्रिचले नै जाने इच्छा देखाएपछि उनले रोक्न सकेनन् ।

२०१२ को अगस्टमा स्पेनको राजधानी टेक्दा मोड्रिचको जिन्दगी फिल्मभन्दा कम लाग्दैनथ्यो । युद्धको केन्द्रविन्दुमा जन्मेर हरेक दिन मृत्युलाई जित्दै उनले त्यो दिन फुटबल करियरको नयाँ शिखरमा पाइला टेकेका थिए । उनले म्याड्रिड टेकेको ३६ घण्टापछि नै चरम प्रतिद्वन्दी बार्सिलोनासँग स्पेनिस सुपर कपको फाइनल भिडन्त थियो । ८३औं मिनेटमा मेसुट ओजिलको सट्टा मैदान छिरेका उनले पहिलो खेलमा पहिलो उपाधी जिताउँदै हुने विरुवाको चिल्लो पात भनेर साबित गरे ।

तर, प्रिसिजनमा ट्रेनिङको अभावले उनको फिटनेसमा समस्या देखियो । ओजिल, जाबी अलोन्सो र सामी खेडिराजस्ता जमेका मिडफिल्डर हुँदाहुँदै उनले सुरुवाती टिममा स्थान पाउन मुस्किल भयो । माउरिन्होको रक्षात्मक निति र मोड्रिचको आक्रामक खेलशैली मेल खाएन । उनले मौका पाएको बेला पनि राम्रो प्रदर्शन गर्न सकेनन् । त्यसैले, २०१२ को सिजन सकिएपछि चर्चित वेबसाइट मार्काले गरेको सर्वेक्षणमा उनी ३२.५% मत पाउँदै ला लिगाका क्लबले त्यो सिजन अनुबन्ध गरेका खेलाडीमध्ये सबैभन्दा कमजोर खेलाडीमा दरिए । उनी बार्सिलोनाको इतिहासकै सबैभन्दा खराब अनुबन्धमा गनिने एलेक्स सङ्भन्दा पनि पछाडि परेका थिए ।

सिजनको अन्त्यसँगै माउरिन्होले म्याड्रिड छाडे । त्यसको सबैभन्दा बढी फाइदा मोड्रिचलाई भयो । कार्लो एन्सेलोटीले म्याड्रिडको व्यवस्थापन सम्हालेपछि हरेक खेलाडीलाई उसको प्राकृतिक पोजिसन अनुरुप खुलेर खेल्ने मौका दिए । त्यसपछि मोड्रिच निरन्तर सुरुवाती टिममा अटाए । त्यसपछि, मोड्रिचले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनको करियरको सबैभन्दा अहम् एसिस्ट २०१४ को च्याम्पियन्स लिग फाइनलमा एट्लेटिको म्याड्रिडविरुद्ध आयो । १–० ले पछाडि परेको अवस्थामा उनले ९३औं मिनेटमा हानेको कर्नरमा सर्जिओ रामोसले हेडिङ गोल गरेका थिए । सोही गोलसँगै निर्धारित समय १–१ को बराबरीमा सकियो । एक्स्ट्रा टाइममा रियलले खेल ४–१ ले जित्यो । त्यो रियलको १०औं च्याम्पियन्स लिग उपाधि थियो । मोड्रिच त्यो सिजन ‘च्याम्पियन्स लिग टिम अफ द सिजन’मा पर्न सफल भए भने स्पेनमा खेल्ने उत्कृष्ट मिडफिल्डरको अवार्ड समेत पाए ।

त्यसपछि समय बित्दै गयो, क्लबका व्यवस्थापक फेरिँदै गए सँगसँगै खेल्ने शैली पनि फेरियो, खेलाडी आए–गए, घाइते भए तर, मोड्रिच रियलको आक्रमणको मियोको रुपमा कायमै छन् । रियलको मध्यक्रमको मुटु बनेका मोड्रिचले ग्यालेक्टिको टिमको आक्रमण एकीकृत बनाउन सधैं केन्द्रिय भूमिका निर्वाह गरिरहे । उनी आएपछि रियलले पछिल्ला ६ वर्षमा १२ उपाधि जित्यो ।

जसरी मानव शरीरका सबै अंगको आ–आफ्नै काम र जिम्मेवारी हुँदाहुँदै पनि दिमाग त्यस्तो अंग हो जसले शरिरका हरेक क्रियाकलाप नियन्त्रण र निर्देशन गर्छ, त्यस्तै फुटबल क्लबको प्रदर्शन पनि उसको मध्यक्रमको प्रदर्शन र क्षमताले निर्दिष्ट गर्छ । हरेक व्यवस्थापकले अलग रणनीति र शैली अपनाए पनि जहिले मध्यक्रम र सेन्ट्रल मिडफिल्डरकै जिम्मेवारी र भूमिका महत्वपूर्ण हुन्छ । एकभन्दा अर्कोमा केही फरक क्षमता र खेलकौशल बढी होला तर, वर्तमान अवस्थामा क्रोएसिया र रियल म्याड्रिडको १० नम्बर जर्सी लाउने लुका मोड्रिचजस्तो कुशल सेन्ट्रल मिडफिल्डर सायदै कोही होला । त्यसैले पनि उनलाई इटालियन मिडफिल्डर आन्द्रे पिर्लोको ‘लेगेसी’ समेत पछाडि पार्नसक्ने खेलाडीका रुपमा हेरिन्छ ।

 

रियलले त्यत्तिकै पछिल्ला ५ वर्षमा ४ च्याम्पियन्स लिग जितेको होइन । र, पछिल्ला ३ वर्षमा तीनवटै च्याम्पियन्स लिग जित्दै अकल्पनीय इतिहास रचेको होइन । रियल म्याड्रिडका फरवार्डलाई विपक्षीको रक्षापंक्ति ध्वस्त पार्न मडफिल्डबाट बल उपलब्ध गराउन लुका मोड्रिच मैदानको मध्य भागमा अनवरत तैनाथ छन् ।

उनको प्रदर्शन, क्षमता र खेलकौशल तथ्यांकले नाप्न सक्दैन । उनको विलक्षण प्रतिभा देख्न उनको खेल नै हेर्नुपर्छ । जब उनी खेल्छन्, खेलभरि उनी मात्रै हुन्छन् । उनी फुटबलका सबैभन्दा दक्ष कलाकार हुन्, मोड्रिच फुटबल खेल्दैनन्, फुटबलको कलात्मकता उजागर गर्छन् । उनको खेलले फुटबलको सौन्दर्य बढाउँछ ।

खेलको आवश्यकता र अवस्था अनुसार उनी डिफेन्समा पनि पुग्छन्, मिडफिल्डमा विपक्षीलाई आच्छुआच्छु बनाउँदै बल छलाउँछन्, मिडफिल्डबाट साथी खेलाडीलाई एसिस्ट पनि गर्छन् र आफैँले गोल हानेर खेल जिताउँछन । त्यसैले, उनी यो पुस्ताका पूर्ण फुटबलर हुन् भन्दा अत्युत्ति नहोला ।

‘तिमी कहाँबाट आयौ त्यसले महत्व राख्दैन, तिमी कहाँ पुग्न सक्यौ त्यसको महत्व हुन्छ ।’ यो भनाई मोड्रिचको हकमा जति अन्त कहाँ मिल्ला र ! क्रोएसियाको युद्धग्रस्त दुर्गम भेग मोड्रिचीका शरणार्थीदेखि संसारकै सबैभन्दा सफल क्लब रियल म्याड्रिडको मिडफिल्डका खम्बासम्म । र, अहिले युद्धबाट उक्सेर स्वतन्त्र हुँदै सबल भएको त्यही देशलाई विश्वकपको फाइनलसम्म उनले पुर्‍याएका छन् । जादुगरहरू जस्तोसुकै पृष्ठभूमीबाट जस्तोसुकै आकर र प्रकारमा आउन सक्छन् भन्ने कुराको जिउँदो सबुत हुन्, लुका मोड्रिच ।

‘मिडफिल्डका जादुगर’ उपनाम पाएका मोड्रिचले फुटबल मैदानमा जादु देखाउन थालेको १४ वर्ष भयो । र, सारा विश्व विश्वकप २०१८ को फाइनलमा फ्रान्सविरुद्ध उनको थप जादु हेर्न लालायित छ । उनी विश्वकपको उत्कृष्ट खेलाडी बन्दै ‘गोल्डेन बल’ पाउने त लगभग निश्चितजस्तै छ । अब यो हेर्न बाँकी छ, यी जादुगरको जादुले क्रोएसियालाई विश्वविजेता बनाउला वा नबनाउला !

(एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP