विश्वकप : एकै खेलमा ११ गोल, एक्लै पाँच गोल

सन् १९३० बाट सुरु भएको विश्वकप फुटबल प्रतियोगितामा थुप्रै रकर्ड बनेका छन् । विश्वकप २१ औं संस्करणसम्म आइपुग्दा ८८ वर्षमा बनेका केही रेकर्ड यस्ता छन् –

सबैभन्दा बढी उपाधि
विश्वकप सबैभन्दा बढी जित्ने टिममा ब्राजिल अग्रस्थानमा रहेको छ । उसले पाँच पटक विश्वकप जितेको छ । त्यस्तै, जर्मनी र इटालीले समान ४–४ पटक विश्वकप जितेका छन् । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप आफ्नो पोल्टामा पारेको छ भने जर्मनीले १९५४, १९७४, १९९० र २०१४ को विश्व विजेता हो । समान चार पटकको विश्व विजेता इटालीले १९३४, १९३८, १९८२ र २००६ मा विश्वकप जितेको छ ।

तथ्यांकमा हेर्ने हो भने अहिलेसम्मको विश्वकपको उपाधि जित्ने देशहरुमध्ये तीन यस्ता देश छन् जसले ७५ प्रतिशत विश्वकपको उपाधि उचालेका छन् । बाँकी देशको भागमा २५ प्रतिशत मात्र परेको छ । त्यसमा अर्जेन्टिनाले दुई पटक १९७८ र १९८६ मा बाहेक विश्वकपको उपाधि उचाल्ने अवसर पाएको छैन । ब्राजिलले अहिलेसम्म सबै विश्वकपमा उपस्थिति जनाएको छ भने दोस्रो स्थानमा जर्मनी रहेको छ। उसले १९ पटक विश्वकपमा सहभागिता जनाएको छ ।

एकै खेलमा सबैभन्दा धेरै गोल
रसियन स्ट्राइकर ओलेग सालेन्कोले सन् १९९४ को विश्वकपमा क्यामरुनविरुद्धको खेलमा एक्लैले पाँच गोल गरेर सबैभन्दा एकै खेलमा सबैभन्दा बढी गोल गर्ने कीर्तिमान बनाएका छन् । जुन अहिलेसम्म कायमै छ । उक्त खेलमा रसिया ६–१ ले विजयी भएको थियो ।

एकै खेलमा ११ गोल
विश्वकपको धेरै गोल भएको खेलमा पर्छ हङगेरी र एल साल्भाडोरबीचको खेल । खेल हंगेरीले १०–१ले जितेको थियो । सन् १९८२ मा स्पेनमा भएको १२ औं विश्वकपमा भएको उक्त खेलमा हङगेरीले साल्भाडोरविरुद्ध ११ गोल गरेको थियो । उक्त खेलमा हंगेरीका लाजियो किसले ह्याट्रिक गरेका थिए । जुन अहिलेसम्मकै सर्वाधिक गोल हो ।

छिटो गोल

सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा टर्कीका हाकान सुकुरले आयोजक दक्षिण कोरियाविरुद्ध खेल सुरु भएको ११ सेकेण्डमा गोल गरेका थिए । उक्त गोल विश्वकपको इतिहासकै सबैभन्दा छिटो भएको गोल हो । उक्त खेलमा टर्की ३–२ ले विजयी भएको थियो ।

छिटो रेड कार्ड
विश्वकपमा छिटो रेड कार्ड पाउने खेलाडी उरुग्वेका डिफेन्डर जोस बाटिस्टा हुन् । १९८६ को विश्वकपमा उनले स्कटल्याण्डविरुद्धको खेलमा ५६ सेकेण्डमा रेड कार्ड पाएका थिए । जुन अहिलेसम्म विश्वकपमा खेल सुरु भएपछि सबैभन्दा छिटो रेड कार्ड खाने खेलाडीमा कायमै छ । उक्त खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *