स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। आइतबार राति भएको खेलमा रोवर्ट लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले जिरोनामाथि ४–१को जित निकाल्यो।
खेलमा बार्सिलोनाका लागि लेवान्डोस्कीले २ गोल गर्दा फेरान टोरेस एक गोल गरे। अर्को गोल आत्मघाती भयो। यता जिरोनका अर्नाउट डान्जुमाले गोल गरेका थिए।
४३औं मिनेटमा जिरोनाका लाडिसलाभ क्रेचीले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा अग्रता लियो। डान्जुमाले ५३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
६१औं मिनेटमा लोवान्डोस्कीको गोलमा बार्सिलोनाले २–१ को अग्रता लियो। उनले नै ७७औं मिनेटमा गोल गरेपछि बार्सिलानाले ३–१को अग्रता बनायो। त्यसपछि ८६औं मिनेटमा टोरेसले गोल गरेपछि बार्सिलोना ४–१ले विजयी भयो।
जितपछि बार्सिलोनाले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ। उसको २९ खेलबाट ६६ अंक भने समान खेलबाट रियलको ६३ अंक छ।
यस्तै, अर्को खेलमा सेभियामाथि रियल बेटिसले २–१को पुनरागमन जित निकाल्यो। बेटिसका जोनी कार्डोसो र कुचो हर्नान्डेसले गोल गरेका थिए भने सेभियाका रुवेन भार्गासले गोल गरेका थिए।