आईपिएलमा मुम्बईको लागतार दोस्रो हार, गुजरातसँग ३६ रनले पराजित

30 Mar, 2025

आईपिएलमा मुम्बई इन्डियन्सले खराब प्रदर्शन गरेको छ। उसले प्रतियोगितामा लागतार दोस्रो हार व्यहोरोको छ। शनिबार राति अहमदावादमा भएको खेलमा मुम्बई गुजरात टाइटन्ससँग ३६ रनले पराजित भयो।

गुजरातले दिएको १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले ६ विकेटको क्षतिमा १६० रन मात्रै बनाउन सक्यो। मुम्बईका लागि सूर्यकुमार यादवले २८ बलमा सर्वाधिक ४८ रन बनाउँदा तिलक बर्माले ३९ रन बनाए। यस्तै, नमिन धिर र मिचेल सान्टरले समान १८ रन बनाए।

मुम्बईलाई सस्तैमा रोक्ने क्रममा गुजराजतका प्रसिद्ध कृष्णा र मोहम्मद सिराजले समान २ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले ८ विकेटको क्षतिमा १९६ बनाएको थियो। उसका साई सुदर्शनले अर्धशतकीय पारी खेले। उनले ४१ बलमा ४ चौका र २ छक्का मद्दतमा ६३ रन बनाए। यस्तै, कप्तान शुभमन गिलले ३७ र जोश बट्लरले ३९ रन बनाए।

बलिङमा मुम्बईका हार्दिक पाण्ड्याले २ तथा ट्रेन्ट बोल्ट, दीपक चहर, मुजिब उर रहमान र सत्यनारायण राजुले समान १ विकेट लिए।

प्रतियोगितामा आज २ खेल हुनेछ। पहिलो खेलमा सनराइजर्स हैदवाद र दिल्ली क्यापिटल्स भीड्ने भने अर्को खेलमा चेन्नई सुपर किग्स र राजस्थान रोयल्स भीड्ने छन्।