वीरगञ्ज र जनकपुरमा जारी दुई दिवसीय क्रिकेट ‘जय ट्रफी एलिट कप’को फाइनल विभागीय डर्बी हुने भएको छ।
आइतबार सकिएको लिगको अन्तिम खेलमा जित निकालेसँगै फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको भीडन्त पक्का भएको हो।
अन्तिम खेलमा पुलिसले बागमती र आर्मीले मधेश प्रदेशलाई हराए। फाइलन नारायणी क्रिकेट मैदानमा मंगलबारबाट सुरु हुनेछ। फाइनल तीन दिवसीय हुनेछ।
बागमतीमाथि पुलिसको ५ विकेटको जित
जनपुरस्थित रामजानकी क्रिकेट मैदानमा भएको लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशमाथि ५ विकेटको जित निकाल्यो। दोस्रो इनिङमा बागमतीले दिएको ११६ रनको सामान्य लक्ष्य पुलिसले २३ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो।
उसका लागि अमति श्रेष्ठले अर्धशतक बनाए। उनले ४५ बलमा ९ चौका प्रहार गर्दै ५६ रन बनाए। यस्तै, कप्तान कुशल भुर्तेललले ३२ रन बनाउँदा अर्जुन साउदले २० रन बनाए। बलिङमा बागमतीका सन्दीप लामिछानेले २ विकेट लिँदा नन्दन यादव, प्रतिश जिसी र सूर्य तामाङले समान १ विकेट लिए।
त्यसअघि बामगती पहिलो इनिङमा ११२ रनमै अलआउट भएको थियो। उसका इशान पाण्डेले ७१ रन बनाए पनि अन्यले साथ नदिँदा बागमती सस्तैमा समेटिएको थियो। बलिङमा पुलिसका ललितले ४, श्रवणले ३ र कुशल भुर्तेलले २ विकेट लिएका थिए।
पुलिसले भने पहिलो इनिङमा अमित श्रेष्ठ र अर्जुन साउदको अर्धशतक मद्दतमा २१५ रन बनाएको थियो। अमतिले ७९ र अर्जुनले ७७ रन बनाएका थिए। यी दुईले पाँचौं विकेटका लागि कीर्तिमानी १४८ रनको साझेदारी गरेका थिए।
बलिङमा बागमतीका सन्दीपले ४ विकेट लिँदा नन्दन यादव र प्रतिश जिसीले समान २ विकेट लिएका थिए।
यता, दोस्रो इनिङमा रित गौतम र शुभ कंशकारले अर्धशत प्रहार बागमतीले २१८ रन बनायो। उसका लागि शुभले ७४ बलमा १२ चौका र १ छक्का मद्दतमा ७० रन बनाउँदा रितले ९३ बलमा ८ चौका मद्दतमा ५२ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि १०९ रनको उत्कृष्ट साझेदारी गरेका थिए।
यी दुई बाहेक कप्तान सन्दीप लामिछाने र सूर्य तामाङले समान १६ रन बनाउँदा उत्तम थापामगरले १४ रनको योगदान दिए। बलिङमा पुलिसका ललित राजवंशीले ३ विकेट लिँदा श्रवण यादवले २ विकेट लिए।
दुवै इनिङमा अर्धशतक प्रहार गरेका अमित श्रेष्ठ प्लेअफ अफ दी म्याच बने।
मधेशमाथि आर्मी ८ विकेटले विजयी
वीरगञ्जस्थित नारायाणी क्रिकेट मैदानम आर्मीले मधेश प्रदेशमाथि ८ विकेटको फराकिलो जित निकाल्यो। २८ रनका झिनो लक्ष्य आर्मीले ८ विकेटको क्षतिमा भेट्टायो। उसका तृतराज दासले १३ रन बनाए। बलिङमा दुवै विकेट प्रदीप पासवानले लिए।
आर्मीले पहिला ब्याटिङ गर्दै बासिर अहमद र भीम सार्कीको अर्धशतक मद्दतमा ९ विकेटको क्षतिमा २२५ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो।
बासिरले ९८ बमाल ८ चौका मद्दतमा ६७ रन बनाए भने भीमले ९३ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए। यी दुईले छैठौं विकेटका लागि १०२ रनको शतकीय साझेदारी गरेका थिए। यी दुईबाहेक ओपनर इमरान शेकले ४२ रन बनाए।
बलिङमा मधेशका लेफ्टआर्म रञ्जित कुमारले १६.३ ओभरमा ३ मेडनसहित ४४ रन खर्चेर ५ विकेट लिए। उनीबाहेक प्रदीप पासवानले २, हरिशंकर साह र अविशेक तिवारीले समान १ विकेट लिए।
पहिलो इनिङमा मधेश १०२ रनमै अलआउट भयो। उसका कप्तान हरिशंकर साहले सर्वाधिक ३१ रन बनाउँदा अविशेक तिवारीले १३ र मयन यादवले ११ रन बनाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन्।
मधेशलाई सस्तैमा समेट्ने क्रममा आर्मीका साबह आलमले १२ ओभरमा ५ मेडनसहित ३७ रन खर्चेर ६ विकेट लिए।
मधेशलाई १०२ रनमै अलआउट गर्दै आर्मीले फलोअन दिएको थियो। त्यसमा उसले १५० रन बनाएको थियो। उसका लागि मयन यादवले सर्वाधिक ४९ रन बनाउँदा कप्तान हरिशंकर साहले २५, अविषेक तिवारीले १९ र निरज यादवले १७ रन बनाए।
बलिङमा आर्मीका बासिरले ४ विकेट लिँदा साहबले ३ र आकाश चन्दले २ विकेट लिए। कुल ९ विकेट लिएका साहब प्लेअफ अफ दी म्याच बने।
पुलिस शीर्ष स्थानमा
लिगका ३ खेलमा २ जित १ बराबरी खेलेको नेपाल पुलिस क्लब शीर्ष स्थानमा रह्यो। उसले कुल ६६ अंक जोड्यो। उसले लिगमा मधेश र बागमती प्रदेशलाई हराउँदा आर्मीसँग बराबरी भएको थियो।
यता, आर्मी ५५ अंकसहित दोस्रा स्थानमा रह्यो। उसले ३ खेलमा २ बराबरी १ मा जित निकालेको थियो। २ बराबरी र १ हारको सामाना गरेको बागमती प्रदेश ४१.५ अंक जोड्दै तेस्रो स्थानमा रहँदा २ हार र १ बराबरी खेलेको मधेश ३१ अंकसहित पुछारमा रह्यो।