प्रशिक्षक वाइल्ड भन्छन्– चुनाैती स्वीकार गरेर नेपाल आएको हुँ

6 Jun, 2025

नेपाली राष्ट्रिय महिला फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले आफू चुना‌ती स्वीकार गरेर नेपाल आएको बताएका छन्।

शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रममा वाईल्डले राष्ट्रिय टिमको प्रशिक्षक बनेपछि जिम्मेवारी बढेको उनले बताए।

‘यो ठूलो प्रतियोगिता हो र ठूलो चुनौती पनि छ’ प्याट्रिकले भने, ‘राष्ट्रिय टिमको प्रशिक्षक बनेपछि अहिले जिम्मेवारी बढेको छ।’

कार्यक्रमा उनले महिला एसियन कप छनोटको लागि अब ३ साताको समय बाँकी रहेकोले भोलिदेखि नै त्यसमा केन्द्रित भएर काम गर्ने बताए।

उज्वेकिस्तानलाई हराउनु चुनौती भएको बताउँदै नवनियुक्त प्रशिक्षक वाइल्डले त्योभन्दा अघि लाओस र श्रीलंकालाई हराउन जरुरी भएको बताए।

एन्फाले वाइल्डलाई बिहीबार मात्र प्रशिक्षक नियुक्त गरेको छ। यसअघि नेपाल सुपर लिगमा काठमाडौं रेजर्सको प्रशिक्षक बनेका वाइल्डसँग एन्फाले १ वर्षको सम्झौता गरेको छ।

कार्यक्रममा प्रशिक्षक छनोट समितिका संयोजक हरि खड्काले प्याट्रिकको सिभी र उनको अनुभवका आधारमा छनोट गरिएको जनाए। नेपाली टिमको महिला प्रशिक्षकका लागि आवेदन दिउका २१ जनामध्येबाट वाइल्डलाई चयन गरेको उनले बताए।