अपराजित रहँदै एपिएफ मेयर्स कप टि–२० च्याम्पियनसिपको फाइनलमा

16 May, 2024

नेपाल एपीएफ क्लबले ललितपुर मेयर्स वुमन्स टी–२० च्याम्पियनसिप २०२४ मा अपराजित रहँदै फाइनल खेल्ने भएको छ।

बिहीबार एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हराउँदै समूह चरणमा चारै खेल जितेर फाइनलमा पुगेको हो।

११२ रनको लक्ष्य पछ्याएको एपीएफले १९.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। एपीएफको जितमा ममता चौधरी ३४ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनमा नट आउट रहिन्।

सरिता मगर ३० बलमा ३ चौकासहित १९, रोमा थापा २३, राजमति ऐरी ११, सीता रानामगर ५ र इन्दु बर्मा ४ रनमा आउट भइन्।

सुदूरपश्चिमकी लक्ष्मी साउदले २, जानकी थापा, कविता जोशी, ऋतु कनौजिया, स्नेहा महरा र विन्दु रावलले १–१ विकेट लिइन्।

त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएको थियो।

कप्तान बिन्दु रावलले ५१ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाइन्। रूवी पोद्दारले ३६ बलमा ४ चौकासहित तथा कविता जोशी २८ बलमा २ चौकासहित २९–२९ रन बनाइन्। एपीएफकी रेखा रावल र इन्दू बर्माले १–१ विकेट लिए।

एपीएफ ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ। सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ।

सुदूरपश्चिमले शुक्रबार बागमतीसँग खेल्ने छ। उक्त खेलमा विजयी भएमा सुदूरपश्चिम फाइनलमा पुग्नेछ। सुदूरपश्चिम बागमतीसँग पराजित भएमा अन्य टोलीको नेट रन रेटमा भर पर्नुपर्ने हुन्छ।

बागमती ३ खेलमा १ मा जित र २ मा हारसहित चौथो स्थानमा छ।