तृतराज दासको शतकमा पिएम कपमा आर्मीको शानदार जित, कोशीको हारको यात्रा कायमै

15 Mar, 2025

जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ। शनिबार सिद्धार्थनगर क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कोशी प्रदेशमाथि ७ विकेटको जित निकाल्यो।

ओपनर तृतराज दासले शतक प्रहार गरेपछि २३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। तृतले १३९ बलमा १४ चौका र १ छक्का मद्दतमा ११२ रन बनाए। यो जारी प्रतियोगिताको दोस्रो शतक हो। यसअघि सुदूरपश्चिमका किरण ठगुन्नाले शतक प्रहार गरेका थिए।

यस्तै, बासिर अहमदले ६२ बलमा ६१ रन बनाउँदा कप्तान विनोद भण्डारीले २७ र भीम सार्कीले १२ रन बनाए। तृत र बासिरले चौथो विकेटका लागि १२० रनको उत्कृष्ट साझेदारी गरेका थिए।

बलिङमा कोशीका प्रकाश कार्की, सन्दीप ढुंगाना र भुपाल लुइँटेलले समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कोशी ४९.३ ओभरमा २३० रनमा अलआउट भएको थियो। उसका लागि सुवन गहतराजले अर्धशतक बनाए। उनले ५७ बलमा ७ चौका प्रहार गरे। यस्तै, सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाउँदा सुजन थपलियाले ४२ र सन्दीप ढुंगानाले २१ रन बनाए।

बलिङमा आर्मीका सोमपाल कार्मीले ४ विकेट लिँदा आकाश चन्द र साहब आलमले समान २ विकेट लिए।

प्रतियोगितामा आर्मीको लगातार चौथो जित हो। ऊ ८ अंकसहित पुलिससँग रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ। यता, कोशीको भने यो लागतार चौथो हार हो । ऊ अंकबिहीन छ।