राष्ट्रिय टी–२० क्रिकेट : लुम्बिनी र कर्णाली प्रदेश विजयी

6 Mar, 2024

मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लुम्बिनी र कर्णाली प्रदेश विजयी भएका छन्।

बैजनाथपुर क्रिकेट रंगशालामा बुधबार भएको पहिलो खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ५८ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ६८ रनको योगफल बनाएको थियो।

लुम्बिनीका लागि विशाल विक्रम केसीले ३१ बलमा ४ छक्का र १ चौका प्रहार गरी ४८ रन बनाउँदा कप्तान देव खनालले २३ बलमा २ छक्का र ६ चौका प्रहार गरि ४५ रन र दिलसाद अलीले ३१ रनको योगदान दिए।

सुदूरपश्चिमका नरेन साउदले २ विकेट लिँदा हेमन्त धामी, दिपक बोहोरा र शेर मल्लले समान १–१ विकेट लिएका थिए।

जवाफमा १ सय ६९ रनको लक्ष्य पाएको सुदूरपश्चिमले १७ दशमलव १ बलमा सवै विकेट गुमाई १ सय ११ रनमा सीमित भयो। सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक १९ रन जोड्दा अविशेक पलले १८ रनको योगदान दिए । लुम्बिनीका म्यान अफ द म्याच निर्मल गुरुङले ३ विकेट लिँदा विर मगर र राहुल चौहानले २–२ विकेट लिए।

आजै भएको दोस्रो खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई ३ विकेट पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ९० रनमा खुम्चियो।

मधेशका प्रदिप पासवानले सर्वाधिक १८ रन बनाउँदा अविशेक तिवारीले १२ रन, अरनिको यादवले ११ रन र राजेश यादवले नटआउट ११ रनको योगदान दिए । कर्णालीका म्यान अफ द म्याच दिवान पुनले ३ विकेट लिँदा दिनेश अधिकारी र अनुज चहरा २–२ विकेट लिए।

जवाफमा ९१ को सामान्य लक्ष्य पछ्याएको कर्णालीले १५ दशमलव ४ बलमा ७ विकेट गुमाई लक्ष्य पार गरेको छ। कर्णालीका लागि हिमान्सु शाहीले २६ बलमा ३ छक्का र ३ चौका प्रहार गरी ३४ रन बनाउँदा अर्जुन घर्तीले १४ रन र रविद्यन्र शाहीले १२ रनको योगदान दिए । मधेशका रन्जित कुमारले ३ विकेट लिँदा हरिशंकर साहले २ विकेट लिए।

बिहिबारको पहिलो खेल लुम्बिनी र गण्डकी तथा दोस्रो खेल कोशी र मधेश प्रदेशबीच खेल हुने मोरङ क्रिकेट सँघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए।