क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध गरेको पुरावेदन मुद्दाको सुनुवाई उच्च अदालत पाटनमा चलिरहेको छ।
आफ्नो मुद्दामा फैसलाको सुनवाइ जारी रहँदा क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पुगेका छन्। उनी आफ्ना सहयोगीसहित अदालत गएका हुन्।
यस्तै, ‘गौशाला २६’ पनि इजलासभित्रै छिन्। उनी बहस सुनिरहेकी थिइन्।
गौशाला २६ को पक्षबाट सह न्यायाधिवक्ता रत्नकेशरी महर्जन र उपन्यायाधिवक्ता प्रकाश घिमिरेले सुरुवाति बहस गरेका थिए । उनीहरूपछि सन्दीपका वकिलहरूले बहस गरे । सन्दीपको तर्फबाट रमण श्रेष्ठ, शम्भु थापा, रामनारायण बिडारी, मुरारी सापकोटा र कृष्ण सापकोटाले बहस सकेका छन् । त्यसपछि फेरि गौशालाका निजी वकिलको पालो आएको हो ।
गौशाला २६ का तर्फबाट चार निजी वकिलले बहस गर्दैछन्। उनीहरूमा शशी अधिकारी, आश्मा आचार्य, लेखनाथ भट्टराई र नारायण चौंलागाई रहेका छन् ।
सन्दीपको पक्षबाट सरोज घिमिरे र सविता भण्डारीले बहस गर्न बाँकी छ।
उच्च अदालत पाटन बाहिर भिडभाड बढ्न थालेको छ। करिब दुई दर्जनको संख्यामा सन्दीपका समर्थकहरू जम्मा भएका छन्।
अदालतबाहिर भीड बढेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
भ्याएसम्म सन्दीपको मुद्दाको फैसला आजै आउन सक्ने बताइएको छ।