ओमानमा जारी एसिसी प्रिमियर कपको पहिलो खेलमा नेपालले १४४ रनको मध्यम लक्ष्य पाएको छ। अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ३ विकेटको क्षतिमा १४३ रन बनाउँदै नेपाललाई मध्यम लक्ष्य दियो।
मलेसियाका कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए । मलेसियालाई ओपनर विरनदीप सिंह र मोहम्मद आमिरले ५।१ ओभरमा ३५ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । आमिर दीपेन्दसिंह ऐरीको बलमा १६ रनमा कट एण्ड बोल्ड आउट भएका थिए ।
त्यसपछि शर्विम मुनिआन्डी र विरनदीप सिंहले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । शर्विन अभिनाश बोहराको योर्करमा बोल्ड भए । उनले ३३ बलमा ३ चौका र २ छक्कासहित ४१ रन बनाए ।
नेपालका दीपेन्द्रले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।