एकै ओभरमा दीपेन्द्र हाले ६ छक्का हान्दा नेपालले दियाे कतारलाई २११ रनको लक्ष्य

13 Apr, 2024

ओमानमा जारी एसिसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ। शनिबार अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरमा लातार ६ छक्का प्रहार गरेपछि नेपालले ७ विकेटको क्षतिमा २१० रन बनायो।

कतारविरुद्धको जारी खेलमा दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरे। योसँगै उनी टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी बने। दीपेन्द्रले अन्तिम ओभरमा ३६ रन बनाए। यो नेपाले एकै ओभरमा बनाएको सर्वाधिक रन हो।

दीपेन्द्रले कमरान खानलाई ६ छक्का प्रहार गरेका हुन्। लगातार ६ छक्कासँगै दीपेन्द्रले २१ बलमा ७ छक्का र ३ चौका मद्दतमा ६४ रन बनाए।

पहिला ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसँगै आसिफ सेखले पनि अर्धशतक बनाए। उनले ४१ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए। यस्तै, कुशल मल्लले १८ बलमा २ चौका र ३ छक्का मद्दतमा ३५ रनको योगदान दिए।

बलिङमा कतारका मुसावर साह र हिमांसु राथोडले समान ३ विकेट लिए भने अमिर फारुकले १ विकेट लिए।