दीपेन्द्रसिंह ऐरीले बल, ब्याट र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेपछि एसिसी प्रिमियर कपमा नेपाल विजयी भएको छ। शनिबार ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा दीपेन्द्र ब्याटबाट अर्धशतक, बलबाट २ विकेट र फिल्डिङबाट रनआउट गरेपछि नेपालले कतारमाथि ३२ रनको जित निकाल्यो।
प्रतियोगितामा नेपालको यो लागतार दोस्रो जित हो। यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो। सो खेलमा पनि दीपेन्द्रले नै अलराउन्ड प्रदर्शन गरेका थिए। कतारको भने यो लागातार दोस्रो हार हो। ऊ पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको थियो।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १७८ रन मात्र बनाउन सक्यो। उसका कप्तान मुहम्मद तनविरले ३३ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६३ रन बनाए।
यस्तै, हिमांशु राथोडले १८ बलमा २२, मोहम्म्द अर्शदले १८ बलमा २३ र अद्नन मिर्जाले ८ बलमा १९ रनको योगदान दिए पनि त्यो जितका लागि पर्याप्त भएन्।
बलिङमा नेपालका लागि दीपेन्द्र, गुल्सन झा र ललित राजवंशीले समान २ विकेट लिए। यस्तै, कुशल मल्ल र अविनाश बोहराको नाममा समान १ विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले दीपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेपछि ७ विकेटको क्षतिमा २१० रन बनायो। उनले कमरान खानको ओभरमा लागातार ६ छक्का प्रहार गरेका हुन्।
योसँगै दीपेन्द्र नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। यस्तै, अन्तर्राष्ट्रिय क्रिकेटमा भने पाँचौं खेलाडी बनेका छन्। यसअघि यो उपलब्धि दक्षिण अफ्रिकाका हर्सल गिब्स, भारतका युवराज सिंह, वेस्टइन्डिजका केइरन पोलार्ड र अमेरिकाका जसकरण मलहोत्राले हासिल गरेका छन्।
अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका दीपेन्द्रले २१ बलमा २ ३ चौका र ७ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाए। यस्तै, आसिफ सेखले ४१ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए भने कुशल मल्लले १८ बलमा ३५ र कप्तान रोहितकुमार पौडेलले १८ रन बनाए।
बलिङमा कतारका मुसावर साह र हिमांसु राथोडले समान ३ विकेट लिए भने अमिर फारुकले १ विकेट लिए।