प्रिमियर कप जित्दै यूएई एसिया कपमा

22 Apr, 2024

यूएई एसीसी टी–२० प्रिमियर कप क्रिकेट प्रतियोगिता जित्दै अर्को वर्ष हुने एसिया कपका लागि छनोट भएको छ। यूएईले आइतबार भएको फाइनलमा घरेलु टोली ओमानलाई ५५ रनले पराजित गर्‍यो। योसँगै यूएईले समूह चरणमा ओमानसँग पाएको ९ विकेटको पराजयको बदला पनि लिएको छ ।

कप्तान मोहम्मद वासिमले शतक बनाएपछि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले मस्कटस्थित अल अमेरेत मैदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ४ रन बनाएको थियो। प्लेयर अफ द फाइनल वासिमले ५६ बल खेली ६ चौका र ७ छक्का प्रहार गर्दै १ सय रन बनाएका थिए।

अर्का ओपनर अलिसान सराफुले २८ बलमा समान २ चौका र छक्कासहित ३४, विष्णु सुकुमरनले १४ बलमा १ चौका र १ छक्काको मद्दतले १८ तथा आसिफ खानले १६ बलमा ५ चौका र २ छक्काको मद्दतले अविजित ३८ रन बनाए। ओमानका बिलाल खानले २ तथा सकिल अहमद र कप्तान जिसान मक्सुदले १–१ विकेट लिए।

जवाफमा आएको ओमानले ९ विकेट गुमाई १ सय ४९ रन मात्र बनाउन सक्यो । तल्लो क्रममा प्रतीक अथाभालेले ३० बलमा ४ चौका र ३ छक्काको मद्दतले ४९ रन बनाएपछि मात्र ओमानको स्कोर हेर्न लायक बनेको थियो। त्यस्तै खालिद काइलले २५ बल खेली ४ चौका र १ छक्कासहित ३० र मक्सुदले १४ रन बनाए । कश्यप प्रजापति १ र अकिब इल्याजले ७ रन मात्र बनाउन सके।

यूएईका जुनाइद सिद्धिकीले ३ विकेट लिए। उनले ४ ओभरमा ३८ रन खर्चेका थिए। त्यस्तै मोहम्मद फारुकले ४ ओभरमा ३० रन खर्चेर र आयन अफ्जल खानले ४ ओभरमा २९ रन खर्चेर २–२ विकेट लिए। यूएईका कप्तान वासिम प्लेयर अफ द सिरिजमा चुनिए। उनले प्रतियोगितामा २ सय ६९ रन बनाउनुका साथै १ विकेट लिएका थिए।

यूएईले सेमिफाइनलमा नेपालको चुनौतीलाई सजिलै ६ विकेटले पन्छाएको थियो। सेमिफाइनलमा यूएईसँगको हारपछि एसिया कपबाट बाहिरिएको नेपाल शनिबार हङकङसँग तेस्रो स्थानका लागि भएको खेलमा ४ विकेटले पराजित भएपछि नोभेम्बरमा हुने एसीसी इमर्जिङ कपबाट पनि बाहिरिएको थियो।