रुविनाको शतकमा माल्दिभ्समाथि नेपालको कीर्तिमानी जित, अपराजित रहँदै क्वार्टरफाइनलमा

13 Feb, 2024

पूर्वकप्तान रुविना क्षेत्रीले सानदार शतक प्रहार गरेपछि मलेसियामा जारी एसिसी वुमन्ुस प्रिमियर कपमा नेपाली महिला टिमले कीर्तिमानी जित निकालेको छ।

मंगलबार भएको खेलमा रुविनाको शतक मद्दतमा नेपालले माल्दिभ्समाथि २१४ रनको फाराकिलो जित निकाल्यो। टि–२० क्रिकेटमा नेपालको यो सर्वाधिक फारकिलो जित हो।

२२८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको माल्दिभ्स १३.५ ओभरमा १३ रनमै अलआउट भयो। माल्दिभ्सका ६ खेलाडी शून्यमा आउट भए। उसका लागि कप्तान सुमया बिन्थ अहमदले सर्वाधिक ५ रन बनाइन्।

माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा अस्मिना कर्माचार्यले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिँदा रुविनाले ३.५ ओभरमा २ रन मात्र खर्चेर ३ विकेट लिइन्। यस्तै, पूजा महतोले ३ ओभरमा २ रन मात्र खर्चेर ३ विकेट नै लिइन्।

त्यअसघि पहिला ब्याटिङ गरेको नेपालले रुविनाको शतक मद्दतमा ४ विकेटको क्षतिमा कीर्तिमानी २२७ रन बनाएको थियो। टि–२० क्रिकेटमा नेपालको यो सर्वाधिक ठूलो योगफल हो।

नेपालका लागि रुविनाले माल्दिभ्सविरुद्ध ५९ बलमा ५ छक्का र १० चौका प्रहार गर्दै नटआउट ११८ रन बनाइन्। यो सँगै उनी नेपालका लागि अन्तर्राष्ट्रिय महिला क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनिन्।

६१–४ को अवस्थाबाट रुविना र पुजा महतोले शतकीय साझेदारी गर्दै कीर्तिमानी योगफल बनाए। यी दुईले ८२ बलमा १६६ रनको नटआउट साझेदारी गरेका थिए। यो साझेदारी टि–२० आईकै पाँचौं विकेटका लागि सर्वाधिक ठूलो साझेदारी हो। पुजाले २६ बलमा ५ चौका र १ छक्का मद्दतमा ५९ रन बनाइन्।

माल्दिभ्सका सामा अलीले ३ तथा नबा बिन्थु नसीमले १ विकेट लिइन्।

यो नेपालको समूहमा लगातार तेस्रो जित हो। यसअघि नेपालले भुटान र हङकङलाई हराएको थियो। नेपाल समूह डीबाट क्वार्टरफाइनलमा पुगेको छ। अब नेपालले क्वार्टरमा भोलि समूह एको उपविजेता कुवेतसँग खेल्ने छ।