डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड आइतबार विश्वकप २०२३ मा अफगानिस्तानको हातबाट स्तब्ध भएको छ। अफगानिस्तानले ६९ रनको सनसनीपूर्ण जित निकालेको हो।
इंग्ल्यान्डमाथि अफगानिस्तानको यो पहिलो ऐतिहासिक जित हो भने एकदिवसीय विश्वकपमा दोस्रो जित हो।
जितका लागि २ सय ८५ रन पछ्याइरहेको इंग्ल्यान्डले ४०.३ ओभरमा २ सय १५ रन बनाएर सबै विकेट गुमायो। ह्यारी ब्रुक्सले ६१ बलमा बनाएको ६६ रनले इंग्ल्यान्डका लागि कोही पनि ब्याटरको सबैभन्दा ठूलो योगदान रह्यो। उनको ब्याटबाट सात चौका र एक छक्का निस्केको थियो।
ओपनर डेविड मानलले ३२ रन जोडे। नियमित अन्तरमा विकेट गुमाएको इंग्ल्यान्डका लागि अरू ब्याटरले गतिलो योगदान दिन सकेनन् । अफगान बलरमध्ये मुजिब रहमानले ५१ रनका तीन विकेट लिए।
त्यस अगाडि अफगानिस्तानले ओपनर रहमानुल्लाह गुरबजको ८० रनको मदतले ४९।५ ओभरमा सबै विकेट गुमाउन अगाडि सय ८४ रन बनाएको थियो । गुरबजले ५७ बलमा आठ चौका र चार छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि इब्राहिम जारडनसँग मिलेर १ सय १४ रनको साझेदारी गरे ।
अफगानिस्तानका लागि मध्यक्रमका ब्याटटर इकरम इलखिलले पनि अर्धशतक पूरा गरे। उनले ६६ बलमा ५८ रन बनाए र त्यसमा तीन चौका तथा दुई छक्का सामेल थियो । इंग्लिस बलरमध्ये अदिल रसिदले ४२ रनमा तीन विकेट लिए।
प्रतियोगितामा अफगानिस्तानको यो पहिलो जित हो भने इंग्ल्यान्डले आफूले खेलेको तीन खेलमा दोस्रो हार बेहोर्यो।