क्वालिफायरअघि जनकपुरलाई झट्का, अनिल साह नखेल्ने

17 Dec, 2024

जारी नेपाल प्रियिमर लिगमा भोलिबाट प्लेअफका खेल सुरु हुँदैछन्। जसमा प्लेअफको क्वालिफायरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा एलिमिनेटरमा चिवनल राइनोज र कर्णाली याक्स भीड्ने छन्।

लिगमा शीर्ष २ मा रहँदै क्वाफियारमा पुगेको जनकपुर बोल्ट्सलाई खेलअघि नै ठूलो झट्का लागेको छ। उसले कप्तान तथा ओपनर अनिल साह बिना नै क्वालिफायर खेल्ने सम्भावना बढेको छ।

बुढी औंलामा चोट लागेका कारण अनिलले भोलि हुने सुदूरपश्चिमविरुद्धको क्वालिफायर गुमाउने सम्भावना अत्यधिक रहेको जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडाले सबै खेललाई जानकारी दिए।

खतिवडाका अनुसार गत शनिबार भएको चिवतन राइनोजविरुद्धको खेलका क्रममा ब्याटिङ गरेर पभेलियन फर्कने क्रममा अनिलको औंलामा चोट लागेको थियो।

जनकपुर ३२ रनले पराजित भएको सो खेलमा अनिलले ६ बलमा २ चौका प्रहार गर्दै ८ रन बनाएका थिए।

‘चितवनविरुद्धको खेल ब्याटिङ गरेर फर्कने क्रममा अनिलको औँला फ्याक्चर भएको छ। अहिले प्लास्टर गरिएको छ। भोलि खेल्ने सम्भावना एकदमै कम छ,’ प्रबन्ध निर्देशक खतिवडाले भने, ‘भोलि बिहान हुने टिम मिटिङपछि मात्र खेल्ने–नखेल्ने टुंगो लाग्छ।’

महत्वपूर्ण खेलमा आफ्ना कप्तान गुमाए जनकपुर दबाबमा आउने छ। अनिलको ब्याटबाट राम्रै रन बनिरहेकाले त्यसको अभाव खेलमा पर्नेछ। अनिले ७ खेलमा १ अर्धशतकसहित कुल १३२ रन बनाएका छन्।

अनिल नखेले टिमको कप्तानी मार्की खेलाडी आसिफ सेखले गर्ने छन् भने उनको स्थानमा यू–१९ टिमका ओपनर इनफर्म ब्याट्सम्यान आकाश त्रिपाठीले एनपिएलमा डेब्यूको अवसर पाउन सक्छन्।