काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा विभागीय टिम एपिएफ अपराजित रहँदै प्लेअफमा पुगेको छ। लिगको अन्तिम खेलमा शनिबार बागमती प्रदेशलाई ४७ विकेटले हराउँदै एपिएफ शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको हो।
एपिएफले दिएको १२७ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ७९ रनमात्रै बनाउन सक्यो।
बागमतीका लागि सोनी पाख्रीनले ३९ बलमा सर्वाधिक २० रन बनाउँदा यसु पाण्डेले १८ बलमा १७ रन बनाइन्। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
बलिङमा एपीएफका लागि सुमन विष्टले २ विकेट लिँदा सोनु खड्का, करुणा भण्डारी, नेरी थापा र सीता रानामगरले समान एक विकेट लिए।
मूलपानी मैदानमा पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको थियो।
उसका लागि कप्तान सीता रानामगरले ५० बलमा ४ चौका प्रहार गर्दै ४४ रनको योगदान दिइन्। यस्तै, इन्दू वर्माले २२ बलमा २८ रन बनाउँदा रोमा थापाले १९ बलमा १९ रन नटआउट रहिन्।
बलिङमा वागमतीका लागि संस्कृति फुयाँल, मनिषा उपाध्याय र सेविका यादवले समान एक विकेट लिए।
एपिएफ शतप्रतिशत जितसहित प्लेअफमा पुग्दा बागमतीले एलिमिनेटर खेल्ने भएको छ। ऊ ८ अंकसहित चौथो स्थानमा छ। उसले सम्भवत सुदूरपश्चिमसँग खेल्नेछ।