काठमाडौं, चैत २७ : सरकारको घोषणा गरेको पुरस्कार वापतको रकम खेलाडीले यही साता पाउने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्।
राजधानीमा शनिबार विश्वकपको जर्सी सार्वजनिक कार्यक्रममा उनले खेलाडीहरुको पुरस्कारको विषय खेलकुद परिषद् र मन्त्रालयबाट अगाडि बढेर अर्थ मन्त्रालयमा पुगेको बताए।
‘सबै जना जिम्मेवार र आफ्नो ठाउँबाट काम गर्न सक्ने हो भने खेलकुदको लागि नयाँ युग नै सुरुवात हुन्छ । खेलाडीहरुको पुरस्कारको कुरा पनि खेलकुद परिषद् र मन्त्रालयबाट अगाडि बढाएर अहिले अर्थ मन्त्रालयमा छ,’ उनले भने, ‘हामी सबैको आशा छ, यो हप्ताभित्र खेलाडीहरुको त्यो बक्यौताहरु सबैले पाउनुहुन्छ।’
उनले नीतिगत तहमा केही उपलब्धीहरु हासिल भएको उल्लेख गर्दै खेलकुद क्षेत्रमा नीति क्षेत्रलाई आबद्ध गराउने विषयमा छलफल जारी रहेको बताए। खेल क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रसँग संवादमा रहेको उनले जानकारी गराए।
‘हामीले नीतिगत तहमा पनि केही उपलब्धीहरु हासिल गर्न सफल भएका छौं। अब खेलकुद क्षेत्रमा नीति क्षेत्रलाई पनि कसरी आबद्ध गर्ने कुराहरु छलफल गर्दा यो पालिको मौद्रिक नीतिमा पनि कर्पोरेट क्षेत्र, वित्तीय संस्थाहरुले पनि खेलकुदलाई कसरी माथि उठाउने, त्यसमा उहाँहरुको सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने जिम्मेवारीहरुलाई कसरी खर्च गर्ने भन्ने कुरा छलफल गर्दा त्यसमा पनि सकारात्मक कुराहरु आएको छ,’ उनले भने।