नेपाल प्रियिमर लिगको दोस्रो सिजनमा विराटनगर किंग्सले सानदार सुरुआत गरेको छ। मंगलबार साँझ कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनको फराकिलो अन्तरले हरायो।
पहिला ब्याटिङ गर्दै विराटनगरले दिएको २२१ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा १६७ रनमै अलआउट भयो। उनका लागि कप्तान कशुल भुर्तेलले सर्वाधिक ५९ रन बनाए। उनले ३१ बलमा ४ चौका र ५ छक्का प्रहार गरे।
यस्तै, एडम रोसिङ्टनले २१ बलमा ३९ रन बनाउँदा डान दौथवेटले २१ र अविशेषक तिवारीले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
बलिङमा विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, मर्चेन्ट डे लाङ, प्रतिश जिसी, शुभम रन्जानेले समान २ विकेट लिँदा बासिर अहमद र सूर्य तामाङले पनि समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले ६ विकेटको क्षतिमा २२० रन बनायो। यो एनपिएलको सर्वाधिक स्कोर हो भने २ सय रन पार भएको पहिलो पटक हो। यसअघिको एनपिएलको उच्च स्कोरको कीर्तिमान पनि विराटनगरकै नाममा थियो। पहिलो सिजन उसले लुम्बिनीविरुद्ध १९३ रन बनाएको थियो।
विराटनगरका लागि मार्टिन गप्तिल र लोकेश बमले विस्फोटक ब्याटिङ गरे। लोकेशले ४८ बलमा ७ छक्का र १ चौका मद्दतमा सर्वाधिक ७२ रन बनाउँदा गप्तिलले ३५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रन बनाए। यी दुईले दोस्रो विकेटका लागि १३२ रनको उत्कृष्ट साझेदारी गरेका थिए। यो पनि दोस्रो सिजनको पहिलो शतकीय साझेदारी हो।
यस्तै, एनपिएलमा डेब्यू गरिरहेका अमेरिकी अलराउन्डर शुभम रन्जानेले पनि विस्फोटक इनिङ खेले। उनले १६ बलमा ३ चौका र २ छक्का मद्दतमा ३८ रन बनाउँदा बासिर अहमदले १३ बलमा २३ र नारायण जोशीले ३ बलमा ११ रन बनाए।
बलिङमा पोखराका लागि म्याट टेलरले २ तथा कप्तान कुशल भुर्तेल र आकाश चन्दले समान १ विकेट लिए।
प्रतियोगिता अन्तर्गत बुधबार एक खेलमात्र हुनेछ। साँझ ४ बजे सुरु हुने खेलमा काठमाडौं गोर्खाजले सुदुरपश्चिम रोयल्सको सामाना गर्नेछ।
