च्याम्पियन्स ट्रफी बुधबारबाट पाकिस्तानमा सुरु भएको छ। तर, घरमै डिफेन्डिङ च्याम्पियन समेत रहेको पाकिस्तानले सुखद् सुरुआत भने गर्न सकेन।
कराँचीमा बुधबार भएको डे–नाइट खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनको फराकिलो अन्तरले पराजित भयो। ३२१ रनको ठूलो लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा २६० रनमै अलआउट भयो।
पाकिस्तानका लागि खुसदिल साहले सर्वाधिक ६९ रन बनाए भने बाबर अजामले ६४ रनको योगदान दिए। यस्तै, सलमान अली आघाले ४२ रन बनाउँदा अन्यले भने गतिलो योगदान दिन सकेनन्।
बलिङमा न्युजिल्यान्डका विल ओरोक र कप्तान मिचेल सान्टनरले समान ३ विकेट लिँदा म्याट हेनरीले २ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले टम लाथम र विल योङको शतक मद्दतमा ५ विकेटको क्षतिमा ३२० रन बनाएको थियो। लाथमले सर्वाधिक ११८ रन बनाए। उनले १०४ बलमा १० चौका र ३ छक्का प्रहार गरे भने योङले ११३ बलमा १२ चौका र १ छक्का मद्दतम १०७ रन बनाए।
यस्तै, ग्लेन फिलिप्स्ले ३९ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनन बनाए। बलिङमा पाकिस्तानका नसिम साह र ह्यारिस रउफले समान २ विकेट लिए।
प्रतियोगिता अन्तर्गतआज भारत र बंगलादेश भीड्दै छन्। यो खेल दुबईमा हुनेछ।