न्युजिल्यान्ड र भारत जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेका छन्। सोमबार राति पाकिस्तानको रावलपिन्डीमा भएको खेलमा न्युजिल्यान्डले बंगलादेशलाई हराएपछि समूह एबाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुगेका हुन्।
समूह एमा दुवैले लागतार दोस्रो जित निकालेका छन्। यता, लागतार दोस्रो हार व्यहोरोका आयोजक तथा डिफेन्डिङ च्याम्पियन पाकिस्तान र बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ। अब यो समूहको अन्तिम खेलमा भारत र न्युजिल्यान्ड तथा पाकिस्तान र बंगलादेश खेल्ने छन्।
रावलपिन्डीम बंगलादेशले दिएको २३७ रनको मध्यम लक्ष्य न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि युवा ब्याट्सम्यान रचिन रविन्द्रले शतकीय पारी खेले। उनले १०५ बलमा १२ र १ छक्का मद्दतमा ११२ रन बनाए। २४ वर्षीय रचिनको यो आईसिसी प्रतियोगिताको चाैथाे शतक हो। उनले सन् २०२३को एकदिवसीय विश्वकपमा ३ शतक बनाएका थिए।
उनीबाहेक टम लाथमले ५५ रन बनाउँदा डेवन कन्वेले ३० र ग्लेन फिलिप्सले २१ रन बनाए। यता, स्टार खेलाडी केन विलियम्सन भने लागतार दोस्रो खेलमा पनि असफल भए। बलिङमा बंगलादेशका तस्किन अहमद, नहिद राना, मुस्ताफिजुर हरमान र रिसाद हुसेनले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले ९ विकेटको क्षतिमा २३६ रन बनाएको थियो। उसका लागि कप्तान नजमुल हसन सान्टोले सर्वाधिक ७७ रन बनाउँदा जाकेर अलीले ४५, रिसाद हुसेनले २६ र तन्जिद हसनले २४ रनको योगदान दिए।
बलिङमा न्युजिल्यान्डका मिचेल ब्रेसवेलले ४ विकेट लिए भने विली ओरोकले २ विकेट लिए।
प्रतियोगिता अन्तर्गत आज दक्षिण अफ्रिका र अस्ट्रेलिया भीड्ने छन्।