चितवन भर्सेस कर्णाली अर्थात् बलिङ भर्सेस बलिङकाे भीडन्त

18 Dec, 2024
Share:
117 Shares

आजबाट नेपाल प्रिमियर लिगमा प्लेअफका खेल सुरु हुँदैछ। प्लेअफ अन्तर्गत सुरुमा एलिमिनेटरको खेल हुनेछ। जसमा बुधबार बिहान ९ बजे चितवन राइनोजले कर्णाली याक्सको सामाना गर्नेछ।

लिग चरण तेस्रो र चौथो स्थानमा सकाएपछि चितवन र कर्णालीको भेट एलिमिनेटरमा भएको छ। लिगमा दुवैले समान ४ जित र ३ हारको सामाना गर्दै समान ८ अंक जोडेका थिए। त्यसमा रनरेटमा चितवन तेस्रो र कर्णाली चौथो बनेको थियो।

लिग रचरणमा दुवै टिमको प्रदर्शन मिश्रित थियो। त्यसैले दुई समान स्तरका टिमबीचको भीडन्त रोचक हुनेछ। खेल हार्ने टिमको उपाधि सम्भावना सकिने भएकाले पनि खेल प्रतिस्र्पात्मक हुनेछ। लिग चरणमा कर्णालीले चितवन माथि ६ विकेटको जित निकालेको थियो।

चितवन र कर्णालीबीचको खेललाई बलिङविरुद्ध बलिङको खेलका रुपमा पनि हेर्न सकिन्छ। प्रतियोतिगामा दुवै टिमको बलिङ निकै उत्कृट देखिएको छ। ब्याटिङमा भने दुवै टिमले प्रतियोगितामा संघर्ष गरिरहेका छन्।

बलिङमा चितवनसँग रिजन ढलका, सोहेल तनवीर र कुशल मल्लको जोडी छ। पवारप्लेमा रिजन र सोहेलको जोडी निकै खतरनाक देखिएको छ। मिडलमा कुशल किफायति र विकेट लिन पनि सक्षम छन्। प्रतियोगितामा रिजनले १३, सोहेलले १२ र कुशलले ८ विकेट लिएका छन्। यिनीहरुलाई रञ्जित कुमार, अमरसिंह रौटेला र बासिल हदिमले पनि साथ दिनेछन्।

यता, कर्णालीसँग पनि बलियो बलिङ छ। ऊसँग मिडियम पेसरका रुपमा सोमपाल कामी र नन्दन यादव छन्। यी दुवैले डेथ ओभरमा उत्कृष्ट बलिङ गरेका छन्। कर्णालीले यी दुईको डेथ बलिङबाट लो स्कोरिङ तीन खेल जितेको छ। नन्दनले ७ र सोमपालले ६ विकेट लिएका छन्।

यस्तै, ऊसँग स्पिनरका रुपमा युवा विपिन शर्मा छन्। प्रतियोगिता आफ्नो प्रभाव छाडेका उनले कुल ९ विकेट लिएका छन्। यस्तै, जिसन मक्सुद र विलियम बसिस्टोको स्पिन पनि घातक हुनसक्छ। बसिस्टोले ८ र जिनसले ६ विकेट लिएका छन्।

यता, ब्याटिङमा भने दुवै टिम ठीक ठाक मात्र देखिएका छन्। चितवनको ब्याटिङ रवि बोपरा, कुशल मल्ल र हसन इसाखिलको भरमा छ भने कर्णालीमा बसिस्टो मात्र फर्ममा छन्। उसले देव खनाल, गुल्सन झा, चाडविक वाल्टन र जिसन मक्सुदबाट आशा राखेको छ।