दक्षिण अफ्रिकीका युवा विस्फोटक ब्याट्सम्यान डेवाल्ड ब्रेभिसले आईपिएल खेल्ने भएका छन्।
गत वर्ष भएको मेगा अक्सनमा अलसोल्ड रहेका ब्रभिस मध्य सिजनबाट आईपिएल खेल्न असर पाएका छन्। उनलाई मध्य सिजनमा चेन्नई सुपर किंग्सले अनुबन्धन गरेको छ।
चेन्नईले उनलाई गुर्जपनित सिंहको स्थानमा टिममा भित्र्याएको हो। गुर्जपनित व्यक्तिगत कारण देखाउँदै बीचमै आईपिएल छाडेका हुन्।
यो सिजनमा चेन्नईको खराब प्रदर्शनबीच टिमलाई बलियो बनाउन उनलाई टिममा ल्याइएको हो। ब्रेभिस, जसलाई ‘बेबी एबी’ भनेर पनि चिनिन्छ, अब टिमको ब्याटिङ लाइनअपमा नयाँ जोश थप्ने अपेक्षा गरिएको छ। उनले अप्रिल २० मा मुम्बई इन्डियन्सविरुद्धको खेलअघि टिमसँग जोडिने बताइएको छ।
चेन्नई सुपर किंग्स यो सिजनमा निकै सङ्घर्ष गरिरहेको छ। टिमले हालसम्म ७ खेलमा केवल २ जित हासिल गरेको छ र अंक तालिकाको पुछारमा छ।
नियमित कप्तान रुतुराज गायकवाड चोटका कारण बाहिरिएपछि महेन्द्र सिंह धोनीले कप्तानी सम्हालेका छन्। गायकवाडको अनुपस्थितिमा टिमको ब्याटिङ लाइनअप कमजोर बनेको छ, र राहुल त्रिपाठीले पनि निराशाजनक प्रदर्शन गरेका छन्। यस्तो अवस्थामा ब्रेभिसको आगमनले टिमको मध्यक्रममा थप आक्रामकता ल्याउने अपेक्षा गरिएको छ।
२२ वर्षीय ब्रेभिसले दक्षिण अफ्रिकाको घरेलु क्रिकेटमा आफ्नो आक्रामक ब्याटिङले सबैको ध्यान खिचेका छन्। उनको तुलना प्रायः एबी डी भिलियर्ससँग गरिन्छ, किनभने उनले पनि ३६० डिग्री शट खेल्न सक्छन्।
यसअघि उनले मुम्बई इन्डियन्सबाट सन् २०२२मा आईपिएलमा डेब्यू गरेका थिए। त्यो सिजन उनले जहाँ उनले ५ खेलमा १६१ रन बनाएका थिए। उनको स्ट्राइक रेट १४२ भन्दा माथि थियो, जसले उनको आक्रामक शैलीको झलक दिएको थियो। तर, पछिल्ला सिजनमा उनले नियमित अवसर पाएका थिएनन्।
टिममा विस्फोटक ब्याट्सम्यानको अवाश्यकता भएकाले उनलाई टिममा समावेश गरिएको चेन्नईका प्रशिक्षक स्टेफेन फ्लेमिङले बताए। ‘हामीलाई मध्यक्रममा आक्रामक ब्याट्सम्यानको खाँचो थियो। डेवाल्डले हाम्रो टिममा नयाँ ऊर्जा ल्याउनेछन्,’ उनले भने।
अब ब्रेभिसको आगमनले टिमलाई थप बलियो बनाउने आशा समर्थकहरूले राखेका छन्।