एलेनको कीर्तिमानी शतक, न्युजिल्यान्ड फाइनलमा, दक्षिण अफ्रिका बाहिरियो

5 Mar, 2026

ओपनर फिन एलेनले शानदार शतक प्रहार गरेपछि न्युजिल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै न्युजिल्यान्ड उपाधिनजिक पुगेको हो ।

कोलकातास्थित इडेन गार्डेन्समा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १७० रनको लक्ष्य न्युजिल्यान्डले १२.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो ।

न्युजिल्यान्डका ओपनर एलेनले ३३ बलमै शतक बनाएर कीर्तिमान बनाए । यो टी-२० विश्वकप इतिहासकै फास्टेस्ट शतक हो । उनले १० चौका र ८ छक्का प्रहार गरे । विष्फोटक ब्याटिङ गरेका एलेनले १९ बलमा अर्धशतक पूरा गरेका थिए । त्यसपछि उनले थप १४ बल खेल्दै शतक पूरा गरेका हुन् ।

१३औं ओभरमा उनले तीन चौका र दुई छक्का प्रहार गर्दै २४ रन जोडेका थिए । स्कोर टाई भइसकेको अवस्थामा एलेनले पाँचौ बलमा यानसेनलाई चौका प्रहार गर्दै जितसहित आफ्नो शतक पूरा गरेका थिए । टी२०आईमा उनको यो तेस्रो शतक हो ।

एलेनले पहिलो विकेटका लागि टिम सेफर्टसँग  ९ ओभरमै ११७ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । सेफर्टले ३३ बल खेल्दै ७ चौका र २ छक्का मदतमा ५८ रन जोडे । रचिन रविन्द्र १३ रनमा नटआउट रहे । दक्षिण अफ्रिकाका कगिसो रबाडाले एक मात्र विकेट लिए ।

न्युजिल्याण्डले सेमिफाइनलमा जितपछि समूह चरणमा दक्षिण अफ्रिकासँग बेहोरेको हारको बदला समेत लिएको छ । समूह चरण दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो ।

यस्तै टी२० विश्वकपमा न्युजिल्यान्डले पहिलो पटक दक्षिण अफ्रिकालाई पराजित गरेको हो । यसअघि टी२० विश्वकपमा पाँच पटक भेट हुँदा न्युजिल्यान्ड पराजित भएको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो । अलराउण्डर मार्को यानसेनले ३० बलमा अविजित ५५ रन बनाएपछि दक्षिण अफ्रिकाले हेर्नलायक स्कोर बनाएको थियो । डेवाल्ड ब्रेभिसले ३४, ट्रिस्टन स्टब्सले २९ रन बनाए ।

दक्षिण अफ्रिका ७७-५ को खराब अवस्थामा हुँदा यानसेन र स्टब्स मिलेर ७३ रनको साझेदारी गरेका थिए ।

न्युजिल्यान्डका लागि म्याट हेनरी, कोल मेकोन्की र रचिन रविन्द्रले २-२ विकेट लिए भने कप्तान मिचेल सान्टनर र जिमी नीशमले १-१ विकेट लिए ।

न्युजिल्यान्डले अब उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल बिहीबार हुँदैछ ।

फाइनल खेल मार्च १० (फागुन २४) आइतबार गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]