काठमाडौं ग्यारी किस्टनले पाकिस्तानको एकदिवसीय (ओडीआई) र टि–२० टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन्।
किस्टनलाई यस वर्षको अप्रिलमा दुई वर्षका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले नियुक्त गरेको थियो।
तर उनले मात्र छ महिनामै आफ्नो पद त्याग गरेका छन्। किस्टर्नको राजीनामाले पाकिस्तानको अष्ट्रेलिया भ्रमणभन्दा एक हप्ताअघि विवाद र असन्तुष्टि देखिएको छ।
पीसीबीले किस्टनको ठाउँमा टेस्ट टोलीका प्रशिक्षक जेसन गिलेस्पीलाई अस्ट्रेलिया भ्रमणको लागि प्रशिक्षक बनाउने निर्णय गरेको छ।
पाकिस्तान क्रिकेट बोर्ड र नव नियुक्त प्रशिक्षकहरू किस्टन र गिलेस्पीबीच असन्तुष्टि बढ्दै गएको थियो। पीसीबीले दुवै प्रशिक्षकहरूलाई टोली चयनको अधिकारबाट बञ्चित गर्दै छुट्टै छनोट समितिलाई यस जिम्मेवारीमा राखेको थियो।
गिलेस्पीले यस विषयमा खुलेर असन्तोष व्यक्त गरेका थिए र तेस्रो टेस्ट खेल अघि ‘म त अब केवल खेल विश्लेषक बनेको छु, जुन मैले सम्झौता गरेको थिएन’ भनेर प्रतिक्रिया दिएका थिए।
किस्टनले यस विषयमा सार्वजनिक रूपमा केही टिप्पणी नगरे पनि उनी समेत यस निर्णयमा असन्तुष्ट रहेको बुझिएको छ। पाकिस्तानको नयाँ कप्तानको घोषणा र टिम चयनको प्रक्रियामा किस्टनको सुझावलाई बेवास्ता गरिएको थियो।
नयाँ कप्तान मोहम्मद रिजवानको घोषणा प्रेस कन्फरेन्समा गर्दा बोर्ड अध्यक्ष मोहसिन नकवी, चयन समिति सदस्य आकिब जावेद, र कप्तान र उपकप्तान सलमान आघा मात्र उपस्थित थिए, जबकि किर्स्टन देशमै थिएनन्।
पाकिस्तानले इंग्ल्याण्डसँग पहिलो टेस्ट गुमाएपछि तेस्रो पटक तीन महिनामा नयाँ चयन समिति बनाइएको थियो। यस समितिमा आकिब जावेद, अलीम डार, अजहर अली, असद सफिक र हसन चीमा समावेश थिए । प्रशिक्षकहरू र कप्तानलाई टिम चयन प्रक्रियाबाट हटाइएको थियो।