क्यानडामा सुरु भएको ग्लोबल टि–२० लिगको उद्घाटन खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलिन टिम भ्यानकुभर नाइट्स पराजित भएको छ। शुक्रबार बिहान ब्राम्पटनमा भएको खेलमा सन्दीपले विकेट लिएको खेलमा भ्यानकुभर टोरन्टो नेशनल्ससँग ८ विकेटले पराजित भयो।
पहिला ब्याटिङ गर्दै भ्याकुभरले दिएको १११ रनको सामान्य लक्ष्य टोरन्टोले १४.४ आभरमा २ विकेटका क्षतिमा भेट्टायो। उसका लागि कप्तान कोलिन मुन्रो सर्वाधिक ४४ रन बनाए। उनले ३९ बलमा समान ३ चौका र छक्का प्रहार गरे।
यस्तै, उन्मुक्त चन्दले २३ बलमा ४ चौका मद्दतमा २३ रन बनाउँदा रसी भान डेर डुसेनले १८ बलमा १ चौका ३ छक्का प्रहार गर्दै ३१ रन बनाए।
बलिङमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने र पाउल भान मेकेरेनले समान १ विकेट लिए। तेस्रो सिजन ग्लोबल टि–२० लिग खेलिरहेका सन्दीपले ४ ओभरमा २९ रन खर्चिए। सन्दीपले पहिलो ओभरको अन्तिम बलमा चन्दलाई एलबीडब्लु आउट गरेका थिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भ्यानकुभर १९.३ ओभरमा ११० रनमै अलआउट भयो। उसका लागि रिजा हेन्ड्रिक्स र मुनिर अहमदले समान २३ रन बनाए। यस्तै, ड्वयन पेट्रोरिसले १६ रन बनाउँदा सन्दीपले ९ बलमा ३ चौका प्रहार गर्दै १५ रन बनाए।
भ्यानकुभरको इनिङ धरासायी बनाउने क्रममा जुनैद सिद्दिकीले ३.३ ओभरमा२५ रन खर्चेर ३ विकेट लिए। उनले एकै ओभरमा ३ विकेट लिएका थिए। यस्तै, मुहम्मद रोहिद र साद बिन जाफरले समान २ विकेट लिए।
भ्यानकुभरमा अर्का नेपाली खेलाडी अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि छन्। उनले भिसा ढिलो आउँदा पहिलो खेल गुमाएका थिए। उनी बुधबार मात्र क्यानडा प्रस्थान गरेका थिए।