ग्लोबल टि–२ लिगमा सन्दीप र दीपेन्द्र दुवैको उत्कृष्ट प्रदर्शन, तर टिम पराजित

29 Jul, 2024

क्यानडामा ग्लोबल टि–२० लिग खेलिरहेका दुई नेपाली क्रिकेटर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी दुवैले उत्कृष्ट प्रर्दशन गरेका छन्। आइतबार राति भएको खेलमा सन्दीपले बलिङमा र दीपेन्द्रले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे।

तर, दुवैको उत्कृष्ट प्रदर्शनका बाबजुद उनीहरुको टिम भ्यानकुभर नाइट्सले प्रतियोगितामा लागतार तेस्रो हारको समान गरेको छ। आइतबार राति भएको खेलमा भ्यानकुभर मोन्टेरियल टाइगर्ससँग १० रनले पराजित भयो। यो हारसँगै भ्याकुभरको अघिल्लो चरण पुग्ने सम्भावना कठीन बनेको छ।

१४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभरले ६ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो। पुनः एक पटक माथिल्लो क्रम चल्न नसक्दा भ्याकुभर पराजित भयो। उसका लागि रिजा हेन्ड्रिक्सले सर्वाधिक ३४ रन बनाए। उनले ३५ बलमा ५ चौका प्रहार गरे।

यस्तै, ड्वायन प्रेटोरिसले २० बलमा ३ चौका र १ छक्का मद्दतमा ३१ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै १५ बलमा ३ चाैका र १ छक्का मद्दतमा ३० रन बनाए। तर, टिमलाई जित भने दिलाउन सकेनन्।

बलिङमा मोन्टेरियलका आयन खानले ३ तथा कलिम सानाले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मोन्टेरियलले पावर प्लेमै ५ विकेट गुमाए पनि ७ विकेटको क्षतिमा १४४ रनको प्रतिस्पर्धात्मक योगफल बनाएको थियो। उसका लागि कोर्बिन बोसले अन्त्यतिर २५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३५ रन बनाएका थिए।

यस्तै, दिलप्रिज बाजवाले २२ बलमा ३३ रन बनाउँदा अज्मतुल्लाह ओमरजाइले ३० बलमा २७ र आयन खानले १३ बलमा १६ रनको योगदान दिएका थिए।

बलिङमा भ्यानकुभरका मोहम्मद आमीर र प्रेटोरिसले समान २ विकेट लिए भने सन्दीपले ४ ओभमार २४ रन मात्र खर्चेर १ विकेट लिए।