अफगानिस्तानका अलराउन्डर गुल्बादिन नाइबले एनपिएल खेल्ने भएका छन्। यी ३४ वर्षीय अलराउन्डरलाई एनपिएलको दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले अनुबन्धन गरेको हो।
नइब हालै सम्पन्न हङकङ सिक्सेस क्रिकेटमा अफगानिस्तानको कप्तानी गर्दै खेलेका थिए। उनको टिम क्वाटरफाइनलसम्म पुगेको थियो।
नइबले अफगानिस्तानका लागि ८९ एकदिवसीय र ८७ टि२० खेल खेलेका छन्। उनले एकदिवसीयमा १३३२ रन र ७४ विकेट लिएका छन् भने टि २० मा ९८६ रन र ३२ विके ट लिएका छन्। उनी बल र ब्याट दुवैमा उत्तिकै प्रभाव पार्नसक्ने खेलाडी हुन्।
उनले दिल्ली क्यापिटल्सबाट आइपिएल खेलेका छन्। साथै उनले बंगलादेश प्रिमियर लिग र आईएल टी २० जस्ता फ्रेन्चाइज लिग पनि खेलेका छन्। उनी लुम्बिनीमा आबद्ध तेस्रो विदेशी खेलाडी हुन्।
मंसिर १ गतेबाट सुरु हुने एनपिएलका लागि लुम्बिनीले भारतका तिनु योहन्नानलाई मुख्य प्रशिक्षक र रोविन सिंहलाई मेन्टर नियुक्त गरेको छ। यस्तै, उसले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वसदस्य सुवास खकुरेलललाई सहायक प्रशिक्षक बनाएको छ।
उसले विदेशी खेलाडीका रुपमा इटालीका फास्ट बलर थोम ड्रागा र अस्ट्रेलियन ब्याट्सम्यान ड्रार्सी सर्टलाई अनुबन्धन गरेको छ।
रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा सन्दीप जोरा, तिलक भण्डारी, विवेक यादव, शेर मल्ल, दुर्गेश गुप्ता, अविशेष गौतम, दिनेश अधिकरी, विशाल पटेल र अदिल खान छन्।
लुम्बिनीले मंसिर ४ गते चितवन राइनोजसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
