इङ्ल्यान्डको ह्वाइट बल क्रिकेट टिमले नयाँ कप्तान पाएको छ। २६ वर्षीय ब्याट्सम्यान ह्यारी ब्रुकलाई इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले एकदिवसीय र टी–२० टिको कप्तान नियुक्त गरेको हो।
अब ब्रुकले जोस बटलरको स्थान लिएका छन् । फेब्रुअरीमा सम्पन्न च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डको निराशाजनक प्रदर्शनपछि कप्तानीबाट राजीनामा दिएका थिए। च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्ड सेमिफाइनलमा पुग्न असफल भएको थियो। लगत्तै बटलरले राजीनामा दिएका थिए।
सन् २०२२ मा टी–२० विश्वकप जितेपछि ह्वाइट बल क्रिकेटमा इंग्ल्यान्डले लगातार खराब प्रदर्शन गर्दै आएको छ। सन् २०२३ को एकदिवसीय विश्वकप र सन् २०२४ को टी–२० विश्वकपमा पनि टिमले आफ्नो उपाधि जोगाउन सकेन।
ह्यारी ब्रुक गत एक वर्षदेखि इंग्लिस टिमको उपकप्तान छन्। उनले सेप्टेम्बर २०२४ मा अस्ट्रेलियाविरुद्धको ओडीआई सिरिजमा बटलरको अनुपस्थितिमा टिमको नेतृत्व गरेका थिए। त्यस सिरिजमा उनले ३१२ रन बनाएर सिरिजको सर्वाधिक रन बनाएका थिए। उनको यो प्रदर्शन र रणनीतिक समझदारीले उनलाई कप्तानीको मुख्य दावेदार बनाएको थियो।
कप्तानीको घोषणापछि ब्रुकले इंग्ल्यान्डका कप्तान आफ्ना लागि ठूलो सम्मान भएको बताएका छन्।
‘इङ्ल्यान्डको कप्तान बन्नु मेरो लागि ठूलो सम्मान हो। सानैदेखि क्रिकेट खेल्दा मैले योर्कशायरको प्रतिनिधित्व गर्ने, इङ्ल्यान्डका लागि खेल्ने र एक दिन टिमको नेतृत्व गर्ने सपना देखेको थिएँ। यो अवसर पाउनु मेरो लागि धेरै ठूलो कुरा हो,’ उनले भने, ‘म मेरो परिवार र प्रशिक्षकहरूलाई धन्यवाद दिन चाहन्छु, जसको समर्थनले म यहाँसम्म आइपुगेँ।’
ब्रुकको नेतृत्वमा इंग्ल्याान्डले मे २९ देखि वेस्टइन्डिजविरुद्ध घरेलु मैदानमा हुने तीन एकदिवसीय र तीन खेलकै टी–२० सिरिज खेल्ने छ। यो सिरिज उनको नेतृत्वको पहिलो परीक्षा हुनेछ।
उनको आक्रामक ब्याटिङ शैली र रणनीतिक समझदारीले इङ्ल्यान्डको ह्वाइट बल टिमलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
टेस्ट क्रिकेटका मुख्य खेलाडी ब्रुकलाई ह्वाइ बलको कप्तान बनाएपछि कतिपयले उनको टेस्ट क्रिकेटको प्रदर्शनमा असर गर्ने आँकलन गरेका छन्। इङ्ल्यान्ड टिमले आगामी नौ महिनामा भारतविरुद्ध पाँच टेस्ट र अस्ट्रेलियामा एसेज सिरिज खेल्नेछ, जसले ब्रुकको कार्यभार व्यवस्थापनलाई चुनौतीपूर्ण बनाउन सक्छ।