यशस्वीको दोहोरो शतकमा भारतले दिएको इंग्ल्यान्डलाई ५५७ रनको विशाल लक्ष्य

18 Feb, 2024

युवा ओपनर यशस्वी जैसवालाको दोहोरो शतक मद्दतमा भारतले तेस्रो टेस्टमा इंग्ल्यान्डलाई जितका लागि ५५७ रनको विशाल लक्ष्य दिएको छ। राजकोटमा जारी खेलको चौथो दिन भारतले ४३०–४को अवस्थामा इनिङ डिक्लियर गर्दै इंग्ल्यान्डलाई ५५७ रनको लक्ष्य दिएको हो।

इंग्ल्यान्डलाई विशाल लक्ष्य दिने क्रममा यशस्वीले उत्कृष्ट इनिङ खेले । तेस्रो दिन शतक बनाएपछि रिडायर्ड हर्ट हुँदै मैदान छाडेका यशस्वी चौथो दिनको पहिलो सेसनमा शुभमन गिल आउट भएपछि पुनः ब्याटिङका लागि आएका थिए। उनले २३६ बल खेल्दै १४ चौका र १२ छक्का मद्दतमा नटआउट २१४ रन बनाए।

यो उनको लागतार दोस्रो खेलमा दोहोरो शतक हो। उनी लगतार दुई खेलमा दोहोरो शतक बनाउने तेस्रो भारतीय ब्याट्सम्यान बनेका छन्। यसअघि विनोद काम्बली र विराट कोहलीले यो उपब्धि हाँसिल गरेका थिए। यस्तै, दुई दोहोरो शतक प्रहार गर्ने उनी विश्वकै तेस्रो कान्छा खेलाडी बनेका छन्। उनी २२ वर्ष ४९ दिनका भए। उनीभन्दा अघि भारतका विनोद काम्बली र अस्ट्रेलियाका डन ब्राडमन छन्।

यस्तै, उनले एकै इनिङमा सर्वाधिक सर्वाधिक छक्का प्रहार गर्ने पाकिस्तानका वासिम अक्रमको कीर्तिमान बराबरी गरेका छन्। दुवैले १२ छक्का प्रहार गरेका छन्।

यशस्वीबाहेक भारतका लागि दोस्रो इनिङमा गिलले ९१ रन बनाउँदा डेब्यूटान्ट सर्फराज खानले नटआउट ६८ रन बनाए। उनले डेब्यू टेस्टका दुवै इनिङमा अर्धशतक बनाए। इंग्ल्यान्डका जो रुट, टम हार्टली र रेहान अहमदले समान १ विकेट लिए।

त्यसअघि भारतले पहिलो इनिङमा कप्तान रोहित शर्मा र रविन्द्र जडेजाको शतक मद्दतमा ४४५ रन बनाएको थियो। रोहितले १९६ बलमा १४ चौका र ३ छक्का प्रहार गर्दै १३१ रन बनाउँदा जडेजाले २२५ बलमा ९ चौका र २ छक्का मद्दतमा ११२ रन बनाएका थिए ।

यस्तै, सर्फराज खानले ६६ बलमा ६२ रनको इनिङ खेलेका थिए अर्का डेब्यूटान्ट ध्रुव जुरेलले ४६ रनको महत्वूर्ण इनिङ खेलेका थिए। इंग्ल्यान्डका मार्क उडले ४ विकेट लिँदा रेहान अहमदले २ विकेट लिएका थिए।

इंग्ल्यान्ड भने पहिलो इनिङमा ३१९ रन बनाएको थियो। उसका लागि बेन डकेटले १५१ बमाल २३ चौका र १ छक्का मद्दतमा १५३ रन बनाएका थिए। यस्तै, कप्तान बेन स्टोक्सले ४१ र ओली पोपले ३० रन बनाउनु बाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन्।

भारतका लागि मोहम्मद सिराजले ४ विकेट लिए। यस्तै, कुलदीप यादव र रविन्द्र जेडजाले समान २ र जस्प्रित बुमराह र रविन्द्रन आविश्वनले समान १ विकेट लिए। यो १ विकेटसँगै आश्विन टेस्ट क्रिकेटमा ५ सय विकेट लिए दोस्रो भारतीय खेलाडी बने।

आश्विनले दोस्रो इनिङमा भने बलिङ गर्ने छैनन्। पारिवारिक इमर्जेन्सीका कारण उनी खेलबीचमै छाडेका छन्।